यहोशूको पुस्तक 8:9-17

यहोशूको पुस्तक 8:9-17 NERV

तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिक्षा गर्न लागे। तिनीहरू बेतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरूहरूसँग बसे। भोलिपल्ट बिहानै यहोशूले मानिसहरूलाई एक साथ भेला गरे। तब यहोशू अनि इस्राएलीहरूका अगुवाहरूले मानिसहरूलाई ऐ शहरतर्फ लिएर गए। सबै सैनिकहरू जो यहोशूसित थिए ऐ शहरतर्फ हिंडे। तिनीहरू शहरद्वारको सामुन्ने रोकिए। सेनाहरूले आफ्नो छाउनी शहरको उत्तर तर्फ बनाए। ऐ शहर र सेनाहरू बीच एक बेंसी थियो। त्यसपछि यहोशूले लगभग 5,000 मानिसहरू छाने। यहोशूले ती मानिसहरूलाई शहर देखि पश्चिम तिरका बेतेल अनि ऐ शहर बीचको क्षेत्रमा लुक्न पठाए। यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए। तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पर्खिरहेका छन् भन्ने उसलाई थाहा भएन। यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरुभूमि तर्फ दौडन थाले। शहरका मानिसहरू कराउन थाले अनि यहोशू र तिनका मानिसहरूलाई खेद्न थाले। सबै मानिसहरूले शहर छोडे। ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्।