यहोशू 8:9-17
यहोशू 8:9-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू गएर ऐको पश्चिमतिर बेथेल र ऐको बीचमा ढुकी बसे। तर यहोशूचाहिँ त्यो रात मानिसहरूका साथमा रहे। यहोशू बिहान सखारै उठे, र मानिसहरूलाई भेला गराएर इस्राएलीहरूका अगुवाहरूसमेत तिनीहरूका अगिअगि ऐतिर गए। तिनीसँग भएका सबै योद्धाहरू सहरको सामुन्ने नजिकै आए, र ऐको उत्तरतिर पाल टाँगे। तिनीहरूका र ऐको बीचमा एउटा बेँसी थियो। यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्चिमतिर, बेथेल र ऐको बीचमा मानिसहरूलाई ढुक्न राखे। तिनीहरूले उत्तरपट्टि र ढुकेर बस्नेहरूलाई चाहिँ सहरको पश्चिमपट्टि गराए। यहोशूले चाहिँ बेँसीमा नै रात बिताए। जब ऐका राजाले यो देखे तब उनी र सहरका सबै मानिसहरू सबेरै उठेर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न तोकिएको ठाउँमा अराबाको सामु हतारसाथ निस्के। तर सहरको पछिल्तिर आफ्नो विरुद्धमा ढुकेर बसेका छन् भन्ने उनलाई थाहा थिएन। तब यहोशू र सबै इस्राएलीहरू उनीहरूका सामुन्ने हारेका भान पारेर उजाड़-स्थानको बाटो भागे। यिनीहरूलाई खेद्नलाई त्यस सहरमा भएका सारा मानिसहरू बोलाइए, र उनीहरू यहोशूको पछिपछि खेद्दैगए, र सहरदेखि धेरै टाढ़ा निक्लिआए। इस्राएलीहरूका पछि नलागेको ऐ र बेथेलमा एक जना मानिस पनि थिएन। उनीहरूले सहर खुला छोड़ेर इस्राएलीहरूलाई खेदे।
यहोशू 8:9-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब यहोशूले तिनीहरूलाई पठाए। अनि तिनीहरू लुक्ने ठाउँमा गए। तब ऐ सहरको पश्चिमतिरको ऐ र बेथेल सहरको बीचमा ढुकिबसे। तर यहोशूले चाहिँ त्यो रात मानिसहरूसँग बिताए। भोलिपल्ट बिहानै यहोशूले आफ्ना सेनाहरूलाई भेला गरे। अनि तिनी र इस्राएलका अगुवाहरू तिनीहरूका अगि-अगि ऐतिर बढे। तिनीसँग भएको सम्पूर्ण दल अगि बढे। अनि तिनीहरू सहरको नजिक पुगे, र त्यस सहरको अगिल्तिर आइपुगे। तिनीहरूले तिनीहरू र सहरको बीचको बेँसीमा ऐ सहरको उत्तरतिर छाउनी हाले। यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्चिमतिर बेथेल र ऐको बीचमा ढुकेर बसे। यसरी सेनाहरू लडाइँका निम्ति तयार भए। फौजको ठूलो दललाई सहरको उत्तरपट्टिको छाउनीमा राखे। अनि ढुकेर बस्नेहरूका दलचाहिँ सहरको पश्चिमपट्टिको छाउनीमा रहे। त्यो रात यहोशूचाहिँ बेँसीमा गए। जब ऐका राजाले यो देखे, तिनी र सहरका सबै मानिसहरू एकाबिहानै हतारिँदै इस्राएलीहरूसँग युद्ध गर्नलाई अराबाको एक निश्चित ठाउँमा निस्के। तर तिनीहरूको विरुद्धमा सहरको पछिल्तिरको भागमा तिनीहरूलाई ढुकेर बस्नेहरूको बारेमा थाहै भएन। यहोशू र सबै इस्राएलीहरू तिनीहरूको अगि-अगि खेदिएझैँ उजाडस्थानतिर भागे। ऐका सारा मानिसहरू तिनीहरूलाई खेद्नलाई बोलाइएका थिए। अनि तिनीहरूले यहोशूलाई खेदे, र तिनीहरू सहरदेखि टाढा पुर्याइए। ऐका अथवा बेथेलमा इस्राएलको पछि नलाग्ने पुरुष एउटै पनि थिएन। तिनीहरू सबैले सहर खुल्ला छोडेर इस्राएलीहरूलाई खेदे।
यहोशू 8:9-17 पवित्र बाइबल (NERV)
तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिक्षा गर्न लागे। तिनीहरू बेतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरूहरूसँग बसे। भोलिपल्ट बिहानै यहोशूले मानिसहरूलाई एक साथ भेला गरे। तब यहोशू अनि इस्राएलीहरूका अगुवाहरूले मानिसहरूलाई ऐ शहरतर्फ लिएर गए। सबै सैनिकहरू जो यहोशूसित थिए ऐ शहरतर्फ हिंडे। तिनीहरू शहरद्वारको सामुन्ने रोकिए। सेनाहरूले आफ्नो छाउनी शहरको उत्तर तर्फ बनाए। ऐ शहर र सेनाहरू बीच एक बेंसी थियो। त्यसपछि यहोशूले लगभग 5,000 मानिसहरू छाने। यहोशूले ती मानिसहरूलाई शहर देखि पश्चिम तिरका बेतेल अनि ऐ शहर बीचको क्षेत्रमा लुक्न पठाए। यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए। तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पर्खिरहेका छन् भन्ने उसलाई थाहा भएन। यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरुभूमि तर्फ दौडन थाले। शहरका मानिसहरू कराउन थाले अनि यहोशू र तिनका मानिसहरूलाई खेद्न थाले। सबै मानिसहरूले शहर छोडे। ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्।
यहोशू 8:9-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसरी यहोशूले तिनीहरूलाई पठाए र तिनीहरू आफू लुक्ने ठाउँमा गई पर्खिबसे। त्यो ठाउँ ऐको पश्चिमपट्टि ऐ र बेथेल सहरका बीचमा पर्थ्यो। यहोशूले त्यो रात छाउनीमा नै बिताए। भोलिपल्ट बिहानै उठेर यहोशूले सिपाहीहरूलाई भेला गरे। त्यसपछि तिनले र इस्राएलका अगुवाहरूले सिपाहीहरूलाई लिई ऐ सहरमा गए। तिनीसँग भएका सिपाहीहरू सहरका मूल-ढोकातिर गए र उत्तरपट्टि छाउनी हाले। तिनीहरू र ऐ सहरका बीचमा बेसी थियो। प्राय: पाँच हजार मानिसहरूलाई लगेर तिनी ऐ र बेथेलका बीचमा सहरको पश्चिमपट्टि लुकाएर राखे। लडाइँ गर्न तयार पारी मूल छाउनीका सिपाहीहरूलाई सहरको उत्तरपट्टि राखे अनि बाँकी मानिसहरूलाई पश्चिमपट्टि राखे। त्यो रात यहोशूले बेसीमा बिताए। ऐका राजाले यहोशूका सेनालाई देख्नासाथ तुरुन्तै तयारी गरे। तिनी आफ्ना सारा सेनासाथ त्यो अगाडिको ठाउँमा नै इस्राएलीहरूसित लड्न अघि बढे। पछिबाट आफूमाथि आक्रमण हुनेछ भनी उनलाई थाहै भएन। यहोशू र तिनका मानिसहरू भागेको बहाना पारेर उजाड-भूमितिर दगुरेर गए। सहरका सबै पुरुषहरूलाई तिनीहरूको पछि लाग्ने आज्ञा भएको थियो। तिनीहरू यहोशूलाई खेद्दै जाँदा सहरदेखि टाढा हुँदैगए। ऐ र बेथेलका हरेक पुरुष इस्राएलीहरूको पछि दगुरे र सहर खुला छोडियो। त्यसको रक्षा गर्ने कोही भएन।