यशैयाको पुस्तक 65:17-25

यशैयाको पुस्तक 65:17-25 NERV

“म नयाँ आकाश र पृथ्वी बनाउनेछु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन। मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा-सर्वदा आनन्दित हुनेछन्। किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु, अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु। “तब म यरूशलेमसँग आनन्दित हुनेछु। म मेरा मानिसहरूसँग खुशी हुनेछु। त्यहाँ फेरि कहिल्यै पनि कोलाहल, र कष्ट हुनेछैन्। त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन, जुन जन्मेर केही दिन मात्र बाँच्दछ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ, अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय बर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय बर्ष सम्म पनि बाँच्दैन, उसलाई श्रापित भएको ठानिन्छ। “त्यस शहरमा यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यहीं बस्नेछ। यदि कसैले दाखहरूका बोट बगैंचामा रोप्दछ भने, त्यस मानिसले त्यही बगैंचाबाट दाख फलहरू खानेछ। कहिल्यै पनि एकजनाले घर बनाउने छैन, अनि अर्को मानिस त्यसमा बस्ने छैन्। कहिल्यै पनि एकजनाले बगैंचा लगाउने छैन अनि अर्को मानिसले बगैंचाको फलफूल खाने छैन्। मेरा मानिसहरू रूखहरू बाँचुन्जेल सम्म बाँच्नेछन्। मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्। स्त्रीहरू मरेका नानी जन्माउँनका लागि कहिल्ये पनि फेरि कष्ट गर्ने छैनन्। स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्। मेरा सारा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्। तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु। ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन्।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।