यशैयाको पुस्तक 62:1-7

यशैयाको पुस्तक 62:1-7 NERV

म सियोनलाई प्रेम गर्छु, यसैले म उसँग लगातार कुरा गर्ने गर्छु। म यरूशलेमलाई प्रेम गर्छु। यसैले म कुरा गर्नु रोकिने छैन। जब सम्म धार्मिकता उज्यालो बत्ती झैं चम्कदैन तब सम्म म कुरामार्नेछु। जब सम्म मुक्ति उज्यालो ज्योति जस्तै बल्दैन म बात मार्नेछु। तब समस्त जातिहरूले तेरो धार्मिकता देख्नेछन्। सबै राजाहरूले तेरो गौरव देख्नेछन्। त्यसपछि तिमीले नयाँ नाउँ पाउने छौ। परमप्रभु स्वयंले तिमीलाई त्यो नयाँ नाउँ दिनुहुनेछ। परमप्रभुले तिमीलाई देखेर अत्यन्त गर्वित हुनु हुनेछ। तिमी परमप्रभुको हातमा एक सुन्दर मुकुट जस्तै हुनेछौ। तिमीलाई ‘परमेश्वरले त्यागेका मानिसहरू’ फेरि कहिल्यै भनिने छैन। तिमीहरूका देशलाई फेरि कहल्यै यसो भन्ने छैन, ‘परमेश्वरले नाश गर्नु भएको देश।’ तिमीहरू ‘परमेश्वरले प्रेम गर्नु भएका मानिसहरू’ भनी डाकिनेछौ। तिमीहरूको देशलाई, ‘परमेश्वरको बेहुला’ भनिने छ। किनभने परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूको देश उहाँकै सम्पत्ति हो। जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ, उसले त्यही स्त्रीलाई विवाह गर्छ। यस्तै प्रकारले, तिमीहरूका उद्धारक नै, तिमीहरूका स्वामी पनि हुनु हुनेछ। एकजना मान्छे आफ्नी नयाँ दुलहीसँग अति खुशी हुँदछ। यस्तै प्रकारले तिम्रो परमेश्वर तिमीसँग खुशी हुनुहुनेछ। यरूशलेम, म तिम्रा पर्खालहरूमाथि रक्षकहरू खटाउनेछु। ती रक्षकहरू चुप लागेर बस्ने छैनन्। तिनीहरू रात दिन प्रार्थना गरिरहनेछन्। रक्षकहरू! तिमीहरूले परमप्रभुलाई प्रार्थना अवश्य गर्नुपर्छ। तिमीहरूले उहाँलाई आफ्ना वचनहरूको सम्झना गराउनु पर्छ। कहिल्यै प्रार्थना गर्न नचुक। जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ।