प्रेरितहरूका काम 2:25-41
प्रेरितहरूका काम 2:25-41 NERV
दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः ‘सधैँ मैले प्रभुलाई मेरो सम्मुख देखें, मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ। यसैले मेरो हृदय आनन्दित छ, र मेरो मुख आनन्दसित बोल्दछ। हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ, किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन। तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन। तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ, तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’ “मेरा दाज्यू-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसँग छ। दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी। यस्तो घट्ना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः ‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’ यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं। यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ। दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैंले भनेः ‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने तर्फ बस, जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’ “यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।” जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?” पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौ। यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैंमा बोलाउनु हुन्छ।” पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।” तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।

