प्रेरित 2:25-41 - Compare All Versions

प्रेरित 2:25-41 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनकि दाऊदले उहाँको विषयमा भन्‍दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्‍छ। यसकारण मेरो हृदय आनन्‍दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ। किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्‍नो उपस्‍थितिद्वारा आनन्‍दले गद्‌गद्‌ पार्नुहुनेछ।’ “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्‍छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्‍म उनको चिहान छँदैछ। यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्‍दथिए कि परमेश्‍वरले शपथ खानुभएको थियो कि उनकै सन्‍तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्‍वरले बसाल्‍नुहुनेछ। अघिबाटै यो देखेर उनले ख्रीष्‍टको पुनरुत्‍थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो। यिनै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं। यसैकारण परमेश्‍वरको दाहिने बाहुलीपट्टि उहाँ उच्‍च पारिनुभयो, र पिताबाट पवित्र आत्‍माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्‍याइदिनुभएको हो, जे तपाईंहरू देख्‍नु र सुन्‍नुहुन्‍छ। किनकि दाऊद त स्‍वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्‍दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ।’ “त्‍यसैकारण इस्राएलको सारा परिवारले यो पक्‍का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट बनाउनुभयो।” यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?” पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ। किनकि प्रतिज्ञा तिमीहरूका निम्‍ति, तिमीहरूका सन्‍तानको निम्‍ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्‍ति हो, प्रत्‍येक जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्‍छ।” अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्‍ट पुस्‍ताबाट तिमीहरूले आफैलाई बचाओ।” तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्‍तिस्‍मा लिए, र त्‍यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्‍यामा थपिए।

शेयर गर्नुहोस्
प्रेरित 2 NNRV

प्रेरित 2:25-41 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

दावीदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ। यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ; किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’ “हे सङ्गी भाइहरू हो, म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्छु: हाम्रा पुर्खा दावीद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ। तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्‍वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो। पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्‍ट पुनरुत्थान हुनुहुनेछ भन्‍ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो। परमेश्‍वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ। परमेश्‍वरको दाहिने हातपट्टि उहाँले उच्‍च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्‍त गर्नुभयो। अनि त्यसैलाई खन्याइदिनुभयो, जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ। किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ।” ’ “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्‍चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्‍वरले प्रभु र ख्रीष्‍ट दुवै बनाउनुभएको छ।” जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?” पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्‍चात्ताप गर्नुहोस्, र येशू ख्रीष्‍टको नाममा तपाईंहरू हरेकले बप्‍तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नुहुनेछ। किनकि परमेश्‍वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्‍नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्छ।” अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्‍ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।” तिनका अर्ती मान्‍नेहरू सबैले बप्‍तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।

शेयर गर्नुहोस्
प्रेरित 2 NCV

प्रेरित 2:25-41 NERV (पवित्र बाइबल)

दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः ‘सधैँ मैले प्रभुलाई मेरो सम्मुख देखें, मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ। यसैले मेरो हृदय आनन्दित छ, र मेरो मुख आनन्दसित बोल्दछ। हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ, किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन। तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन। तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ, तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’ “मेरा दाज्यू-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसँग छ। दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी। यस्तो घट्ना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः ‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’ यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं। यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ। दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैंले भनेः ‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने तर्फ बस, जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’ “यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।” जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?” पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौ। यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैंमा बोलाउनु हुन्छ।” पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।” तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।

शेयर गर्नुहोस्
प्रेरित 2 NERV

प्रेरित 2:25-41 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

दाऊद राजाले पनि उहाँको बारेमा यसरी भनेका थिए– मैले प्रभुलाई सधैँ मेरो सामुन्‍ने देखिरहेको छु। उहाँ मलाई सुरक्षा दिँदै मेरो साथमा रहनुहुन्‍छ र म डराउनुपर्दैनँ। त्‍यसैले म हृदयदेखि नै खुसी छु र खुसीको गीत गाइरहन्‍छु। मरेर जानुपरे पनि म आशामा बाँचेर जिउँदछु किनभने तपाईंले मलाई पातालमा छोड्‍नुहुन्‍न, तपाईंले आफ्‍नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्‍न। तपाईंले मलाई जीवनको बाटो देखाउनुभएको छ। तपाईंसँग हुँदा म खुसीले रमाउँछु। “हे मेरा दाजुभाइ हो, हाम्रा पुर्खा दाऊदका बारेमा म सफासँग भन्‍न सक्‍छु। तिनी मरे र तिनको लाशलाई चिहानमा राखियो अनि त्‍यो चिहान अझै पनि हामीसँगै छ। तर दाऊद अगमवक्ता थिए र उनकै सन्‍तानमा एक जना उनको सिंहासनमा बस्‍नेछन् भन्‍ने कुरा उनलाई थाहा थियो। परमेश्‍वरले उनीसँग यो प्रतिज्ञा गर्नुभएको थियो। परमेश्‍वरले गर्नुहुने काम दाऊदले अघि नै देखिसकेका थिए। यसकारण मुक्ति दिनुहुने राजा ख्रीष्‍ट मरेकोबाट बिउँतनुहुन्‍छ भन्‍ने कुरासँग यो मिल्‍न आउँछ। ‘उहाँ पातालमा छोडिनुभएन अनि उहाँको शरीर पनि कुहेन’। “अब उही येशू ख्रीष्‍टलाई परमेश्‍वरले मरेकोबाट बिउँताउनुभएको छ र यही कुराको हामी सबै साक्षी छौं। परमेश्‍वर पिताले येशूलाई उच्‍च पारेर आफ्‍नो दाहिने हातपट्टि बसाल्‍नुभयो र आफ्‍नो प्रतिज्ञाअनुसार उहाँलाई पवित्र आत्‍मा दिनुभयो। त्‍यही पवित्र आत्‍मा प्रभु येशूले अहिले हामीमाथि खन्‍याउनुभएको हो, जुन कुराचाहिँ तपाईंहरूले अहिले सुन्‍दै र देख्‍दै हुनुहुन्‍छ। स्‍वर्गमा गएर दाऊद आफैं त परमेश्‍वरको दाहिने हातमा बसेनन्, तापनि उनले यसरी भने– परमेश्‍वरले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हाततिर बस, ‘जबसम्‍म म तिम्रा सबै शत्रुहरूलाई तिम्रा खुट्टामुनि पार्नेछैनँ’। “त्‍यसैले अब इस्राएलका सबै मानिसले यो कुरा जान्‍नुपर्छ– तपाईंहरूले क्रूसमा मारेका येशूलाई नै परमेश्‍वरले प्रभु र मुक्ति दिनुहुने ख्रीष्‍ट दुवै बनाउनुभएको छ।” पत्रुसले भनेका कुरा सुनेर मानिसहरूको मन हलचल भयो। तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए दाजुभाइ हो, त्‍यसो भए अब हामी के गरौं?” तब पत्रुसले भने, “तपाईंहरू सबैले आ-आफ्‍ना पापलाई मानिलिएर छोड्‍नुहोस् र पाप क्षमाको लागि येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा लिनुहोस् र तपाईंहरूले परमेश्‍वरको वरदान पवित्र आत्‍मालाई पाउनुहुनेछ। यो प्रतिज्ञाचाहिँ तपाईं र तपाईंहरूका छोरा-छोरीको लागि र टाढा-टाढामा रहेका सबैको लागि हो, जस-जसलाई उहाँले बोलाउनुहुन्‍छ।” पत्रुसले उनीहरूलाई धेरै कुराहरू भनेर साक्षी दिए अनि तिनीहरूलाई राम्ररी सम्‍झाउँदै भने, “आजका दुष्‍ट पुस्‍तामाथि आइपर्ने दण्‍डदेखि आफैंलाई बचाउनुहोस्।” धेरैले पत्रुसले दिएको सन्‍देशमा विश्‍वास गरे र बप्‍तिस्‍मा लिए। त्‍यस दिन बप्‍तिस्‍मा लिने मानिसहरू झण्‍डै तीन हजार जति थिए।

शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपाली