रोमी 10:5-17

रोमी 10:5-17 सरल नेपाली

“व्यवस्था पूरा पालन गर्ने मानिस जिउनेछ,” भनेर मोशाले व्यवस्थाले ठीक हुने बारेमा लेख्‍छन्। विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिनेबारेमा धर्मशास्‍त्रले यसो भन्छ, “तिमीले मनमनै यसो नभन, को स्वर्ग जान्छ?” (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन) “वा आफ्‍नो मनमा यसो पनि नभन, पातालमा को ओर्लने?” (अर्थात् ख्रीष्‍टलाई मरेकोबाट माथि ल्याउन)। तर यसले के भन्‍छ? “मुक्तिको वचन तिमीहरूको नजिकै छ। यो तिमीहरूकै मुख र हृदयमा छ,।” हामीले विश्‍वासको बारेमा प्रचार गरेको सुसमाचार यही कुरा नै हो। तिमीहरू आफ्‍नो मुखले येशू नै प्रभु हुनुहुन्‍छ भनेर अरूलाई भन्‍छौ भने अनि परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिमीहरू बाँच्‍नेछौ किनभने हामी हृदयले विश्‍वास गरेर नै परमेश्‍वरको सामु ठीक ठहरिन्‍छौं अनि विश्‍वास गरेका कुरा आफ्‍नै मुखले अरूलाई सुनाएर बचाइन्‍छौं किनभने धर्मशास्‍त्रले भन्‍छ, “उहाँमा विश्‍वास गर्नेले कहिल्‍यै पनि निराश हुनुपर्नेछैन,।” यहूदी र अरू मानिसमा केही फरक छैन। उही एउटै परमेश्‍वर सबैका परमेश्‍वर हुनुहुन्‍छ। उहाँलाई पुकार्नेलाई उहाँले आशिष्‌ले धनी तुल्‍याउनुहुन्‍छ। धर्मशास्‍त्रले भन्‍छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।” तर उहाँमा विश्‍वास नगरी कसरी उहाँलाई पुकार्ने? उहाँको बारेमा नसुनीकन कसरी उहाँमा विश्‍वास गर्ने? उहाँको बारेमा कसैले नसुनाई कसरी उहाँको बारेमा सुन्‍ने? सुनाउने मानिस नपठाई कसरी सुनाउने? धर्मशास्‍त्रले भन्‍छ, “सुसमाचार सुनाउनेहरू आउँदा कति आनन्‍दको कुरो हो।” तर सुन्‍नेहरू धेरैले चाहिँ सुसमाचारको वास्‍तै गरेनन्। अगमवक्ता यशैया भन्‍छन्, “प्रभु, हामीले भनेका कुरा कसले पो विश्‍वास गर्‍यो र?” यो हामीलाई थाहा छ, विश्‍वासचाहिँ सुनेर आउँछ र सुन्‍ने कामचाहिँ ख्रीष्‍टको प्रचारबाट हुन्‍छ।

रोमी 10 पढ्नुहोस्