रोमी 10:5-17

रोमी 10:5-17 NNRV

मोशा लेख्‍छन्, “व्‍यवस्‍थामा आधारित भएको धार्मिकता पालन गर्ने मानिस त्‍यसैबाट जिउनेछ।” तर विश्‍वासमाथि आधारित भएको धार्मिकताले यसो भन्‍छ, “मन-मनमा यसो नभन, ‘स्‍वर्गमा को उक्‍लने’?” (अर्थात्‌ ख्रीष्‍टलाई तल ल्‍याउनलाई), वा आफ्‍नो मनमा यसो पनि नभन, “पातालमा को ओर्लने?” (अर्थात्‌ मरेकाहरूबाट ख्रीष्‍टलाई माथि ल्‍याउनलाई)। तर यसले के भन्‍छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात्‌ विश्‍वासको वचन, जो हामी प्रचार गर्दछौं। किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्‍नो हृदयले विश्‍वास गर्छ र ऊ निर्दोष ठहरिन्‍छ, अनि उसले आफ्‍नो मुखले स्‍वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्‍त्र भन्‍छ, “उहाँमाथि भरोसा राख्‍ने कोही लाजमा पर्नेछैन।” किनकि यहूदी र अन्‍यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्‍छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्‍नो प्रशस्‍त आशिष्‌ दिनुहुन्‍छ। किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” तर जसलाई विश्‍वास गरेकै छैनन्‌ उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन्‌ उहाँमाथि तिनीहरूले कसरी विश्‍वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍ने? र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्‍तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्‍दर!” तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्‍छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्‍वास गरेको छ?” जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ।