भजनसंग्रह 41:1-13
भजनसंग्रह 41:1-13 सरल नेपाली
दरिद्रहरूको वास्ता गर्नेहरू हर्षित हुन्छन्; तिनीहरू कष्टमा पर्दा परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुहुन्छ। परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुनेछ र तिनीहरूका प्राण जोगाउनुहुनेछ। स्वदेशमा उहाँले तिनीहरूलाई आनन्द दिनुहुनेछ, शत्रुको शक्तिमुनि उहाँले तिनीहरूलाई छोड्नुहुन्न। तिनीहरू बिरामी हुँदा परमप्रभुले सहायता गर्नुहुनेछ र तिनीहरूलाई फेरि स्वास्थ्य पार्नुहुनेछ। मैले भनें, “परमप्रभु! मैले तपाईंको विरुद्धमा पाप गरेको छु, मलाई दयामाया गर्नुहोस् र निको पार्नुहोस्।” मेरा शत्रुहरूले मेरा बारेमा नराम्रा कुरा भन्छन्, तिनीहरू म मरेको र सबैले मलाई भुलेको चाहन्छन्। मलाई हेर्न आउनेहरू राम्रा मनले आउँदैनन्; तिनीहरूले मेरो बारेमा दुष्ट कुराहरू बटुल्छन्, बाहिर गएर जहाँतहीं ती कुराहरू भनिहिँड्छन्। मलाई घृणा गर्नेहरू सबैले मेरो बारेमा आपसमा कानेखुसी गर्छन् र सबैभन्दा नराम्रो कुरा सोच्छन्। तिनीहरू भन्छन्, “त्यसलाई मर्ने रोग लागेको छ, त्यसले फेरि ओछ्यान छोड्न सक्नेछैन।” मैले अत्यन्तै विश्वास गरेको मसँग एकैसाथ खाने, मेरो सबैभन्दा उत्तम साथी पनि मेरो विरुद्धमा उठेको छ। हे परमप्रभु! मलाई दयामाया गर्नुहोस्, मलाई फेरि स्वास्थ्य पार्नुहोस्। अनि म आफ्ना शत्रुहरूसँग साटो फेर्नेछु। तिनीहरूले मलाई जित्नेछैनन्, अनि तपाईं मसँग खुसी हुनुहुन्छ भनी म जान्नेछु। तपाईंले मलाई सहायता गर्नुहुन्छ किनभने जे ठीक छ, सो म गर्दछु। सदाको लागि तपाईंले मलाई आफ्नो उपस्थितिमा राख्नुहुनेछ। परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर!

