भजनसंग्रह 41:1-13

भजनसंग्रह 41:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यो धन्‍यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्‍यसलाई छुटकारा दिनुहुन्‍छ। परमप्रभुले त्‍यसको रक्षा गर्नुहुनेछ, र त्‍यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्‍यसलाई पृथ्‍वीमा आशिष्‌ दिनुहुनेछ, अनि त्‍यसलाई त्‍यसका शत्रुहरूको इच्‍छामा छोड्‌नुहुनेछैन। परमप्रभुले त्‍यसलाई त्‍यसको बिरामीको ओछ्यानमा सम्‍हाल्‍नुहुनेछ, अनि त्‍यसलाई फेरि स्‍वास्‍थ्‍य प्रदान गर्नुहुनेछ। मैले भनें, “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। मलाई निको पारिदिनुहोस्‌, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।” मेरा शत्रुहरू द्वेषसाथ यसो भन्‍छन्‌, “त्‍यो कहिले मर्ला, र त्‍यसको नाउँनिशानै मेटिएला?” जब मलाई हेर्न कोही आउँछ, त्‍यसले झूटो कुरा बोल्‍छ, र त्‍यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्‍यसले मेरो निन्‍दाका कुरा फैलाउँछ। मलाई घृणा गर्नेहरू सबै जम्‍मा भएर मेरो विरुद्धमा कानेखुसी गर्छन्‌, मेरो विरुद्धमा तिनीहरू यसो भन्‍दै मेरो अनिष्‍ट चिताउँछन्‌: “त्‍यसलाई घातक रोगले पक्रेको छ, त्‍यो जहाँ पस्रेको छ त्‍यहाँबाट उठ्‌नेछैन।” मैले भरोसा गरेको मेरो परममित्रसमेत, जसले मेरै रोटी खान्‍थ्‍यो, त्‍यसले मेरो विरुद्धमा लात उठाएको छ। तर हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्‌, मलाई खड़ा गर्नुहोस्‌, र म तिनीहरूसँग बदला चुकाउन सकूँ। म जान्‍दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्‍छ, किनकि मेरो शत्रु ममाथि विजयी हुन सक्‍दैन। मेरो सत्‍यनिष्‍ठामा तपाईंले मलाई सम्हाल्‍नुहुन्‍छ, र सदासर्वदा तपाईंको उपस्‍थितिमा मलाई राख्‍नुहुन्‍छ। इस्राएलका परमेश्‍वर परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌, आमेन अनि आमेन।

शेयर गर्नुहोस्
भजनसंग्रह 41 पढ्नुहोस्

भजनसंग्रह 41:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्; याहवेहले तिनीहरूलाई सङ्कष्‍टको दिनमा बचाउनुहुन्छ। याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ। तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्। उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्‍न। याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ, र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ। मैले भनेँ, “हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।” मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्, “त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?” जब तीमध्ये कोही मलाई भेट्न आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ; तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ। मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्; तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्, “त्यसलाई घातक रोग लागेको छ; त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।” मेरो घनिष्‍ठ मित्रले, जसलाई मैले भरोसा गरेँ, जसले मेरै भोजन खान्थ्यो, त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ। तर हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई खडा गर्नुहोस्, र म तिनीहरूलाई बदला लिन सकूँ! म जान्दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्छ; किनकि मेरा शत्रुहरू ममाथि विजयी हुन पाउँदैनन्। मेरो इमानदारीताको कारण तपाईंले मलाई सम्हाल्नुहुन्छ र मलाई तपाईंको उपस्थितिमा सदासर्वदा राख्नुहुन्छ। याहवेह, इस्राएलका परमेश्‍वरलाई, सदासर्वदा प्रशंसा होस्! आमेन! आमेन!

शेयर गर्नुहोस्
भजनसंग्रह 41 पढ्नुहोस्

भजनसंग्रह 41:1-13 पवित्र बाइबल (NERV)

एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ, त्यसैले धेरै आशीर्वादहरू पाउनेछ। जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ। परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ। त्यो मानिस पृथ्वीमा धन्य हुनेछ। परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा नष्ट हुन दिनु हुनेछैन। जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ। त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ। मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्। मैले तपाईंको विरूद्ध पाप गरें, तर मलाई क्षमा दिनुहोस् र निको पार्नु होस्।” मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे। तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?” मानिसहरू मलाई हेर्न आउँछन्। तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्। तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्, अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्। मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्। तिनीहरूले मेरो विरूद्ध षड्‌यन्त्रहरू गरिरहेछन्। तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो त्यसैले गर्दा ऊ बिमारी भयो। हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।” मेरो प्रिय साथीले मसँगै खायो, जसलाई म भरोसा गर्थें। तर अहिले, ऊ मेरो बिरोधी भएकोछ। यसैले, हे परमप्रभु, दया गरेर मप्रति कृपा गर्नु होस्। मलाई उठाउनु होस् अनि म तिनीहरूको ऋण चुक्ता गर्नेछु। हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्। तब म जान्ने छु तपाईंले तिनीहरूलाई ममाथि आघात गर्न पठाउनु भएन। म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो। तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ। परमप्रभु, इस्राएल का परमेश्वर धन्यको हुनुहुन्छ। उहाँ सधैँ हुनुहुन्थ्यो, अनि उहाँ सधैँ हुनुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 41 पढ्नुहोस्

भजनसंग्रह 41:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दरिद्रहरूको वास्‍ता गर्नेहरू हर्षित हुन्‍छन्; तिनीहरू कष्‍टमा पर्दा परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुहुन्‍छ। परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुनेछ र तिनीहरूका प्राण जोगाउनुहुनेछ। स्‍वदेशमा उहाँले तिनीहरूलाई आनन्‍द दिनुहुनेछ, शत्रुको शक्तिमुनि उहाँले तिनीहरूलाई छोड्‍नुहुन्‍न। तिनीहरू बिरामी हुँदा परमप्रभुले सहायता गर्नुहुनेछ र तिनीहरूलाई फेरि स्‍वास्‍थ्‍य पार्नुहुनेछ। मैले भनें, “परमप्रभु! मैले तपाईंको विरुद्धमा पाप गरेको छु, मलाई दयामाया गर्नुहोस् र निको पार्नुहोस्।” मेरा शत्रुहरूले मेरा बारेमा नराम्रा कुरा भन्‍छन्, तिनीहरू म मरेको र सबैले मलाई भुलेको चाहन्‍छन्। मलाई हेर्न आउनेहरू राम्रा मनले आउँदैनन्; तिनीहरूले मेरो बारेमा दुष्‍ट कुराहरू बटुल्‍छन्, बाहिर गएर जहाँतहीं ती कुराहरू भनिहिँड्छन्। मलाई घृणा गर्नेहरू सबैले मेरो बारेमा आपसमा कानेखुसी गर्छन् र सबैभन्दा नराम्रो कुरा सोच्‍छन्। तिनीहरू भन्‍छन्, “त्‍यसलाई मर्ने रोग लागेको छ, त्‍यसले फेरि ओछ्यान छोड्‍न सक्‍नेछैन।” मैले अत्‍यन्‍तै विश्‍वास गरेको मसँग एकैसाथ खाने, मेरो सबैभन्दा उत्तम साथी पनि मेरो विरुद्धमा उठेको छ। हे परमप्रभु! मलाई दयामाया गर्नुहोस्, मलाई फेरि स्‍वास्‍थ्‍य पार्नुहोस्। अनि म आफ्‍ना शत्रुहरूसँग साटो फेर्नेछु। तिनीहरूले मलाई जित्‍नेछैनन्, अनि तपाईं मसँग खुसी हुनुहुन्‍छ भनी म जान्‍नेछु। तपाईंले मलाई सहायता गर्नुहुन्‍छ किनभने जे ठीक छ, सो म गर्दछु। सदाको लागि तपाईंले मलाई आफ्‍नो उपस्‍थितिमा राख्‍नुहुनेछ। परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर!

शेयर गर्नुहोस्
भजनसंग्रह 41 पढ्नुहोस्