भजनसंग्रह 115:1-18
भजनसंग्रह 115:1-18 सरल नेपाली
तपाईंलाई मात्र, हे परमप्रभु, तपाईं एक्लैलाई, हामीलाई होइन, महिमा होस्, तपाईंको अन्नत प्रेम र विश्वासयोग्यताको कारण! किन जातिहरूले हामीलाई सोध्छन्, “तिम्रा परमेश्वर कहाँ हुनुहुन्छ?” हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। तिनीहरूका देवताहरू मानिसका हातले सुन र चाँदीबाट बनाएका हुन्। तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन्, आँखा छन् तर देख्न सक्दैनन्। तिनीहरूका कान छन् तर सुन्न सक्दैनन्; नाक छन् तर सुन्न सक्दैनन्, तिनीहरूका हात छन् तर छाम्न सक्दैनन्; खुट्टा छन् तर हिँड्न सक्दैनन्। तिनीहरूले अलिकति आवाज पनि निकाल्न सक्दैनन्। ज-जसले ती मूर्तिहरू बनाए र तिनमा भरोसा राख्छन्, तिनीहरू ती मूर्तिहरूजस्तै हुनेछन्। हे इस्राएलका प्रजा, परमप्रभुमाथि भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्छ। परमेश्वरका पूजाहारीहरू हो, तिमीहरू परमप्रभुमा भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्छ। उहाँलाई पुज्नेहरू सबै परमप्रभुमा भरोसा राख, उहाँले तिमीहरूलाई सहायता र रक्षा गर्नुहुन्छ। परमप्रभुले हामीलाई याद गर्नुहुन्छ र आशिष् दिनुहुन्छ। उहाँले इस्राएलका प्रजा र परमेश्वरका सबै पूजाहारीहरूलाई आशिष् दिनुहुन्छ। उहाँलाई आदर गर्ने साना-ठूला सबैलाई उहाँले आशिष् दिनुहुन्छ। परमप्रभुले सन्तानहरू देऊन्; तिमी र तिम्रा छोरा-नातिहरूलाई पनि। स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्! स्वर्ग परमप्रभुको मात्र हो, तर पृथ्वीचाहिँ उहाँले मानिसलाई दिनुभयो। मरेकाहरू, जो मृत्यु-लोकमा पुगेका छन्, तिनीहरूले परमप्रभुको प्रशंसा गर्दैनन्। तर हामी जिउँदाहरूले अहिले र सदाकालको लागि उहाँलाई धन्यवाद चढाउनेछौं।

