भजनसंग्रह 106:6-18

भजनसंग्रह 106:6-18 सरल नेपाली

हाम्रा पिता-पुर्खाहरूले जस्‍तै हामीले पाप गरेका छौं, हामी खराब र दुष्‍ट बनेका छौं। मिश्रमा हाम्रा पुर्खाहरूले परमेश्‍वरका उदेकका कामहरू बुझेनन्, धेरै चोटि उहाँले तिनीहरूलाई देखाउनुभएको प्रेम तिनीहरूले भुले र लाल समुद्रमा तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको विद्रोह गरे। तर उहाँले प्रतिज्ञा गर्नुभएअनुसार आफ्‍ना परमशक्ति देखाउन उहाँले तिनीहरूलाई बचाउनुभयो। उहाँले लाल समुद्रलाई आज्ञा दिनुभयो र त्‍यो सुक्‍यो र उहाँले आफ्‍ना प्रजालाई सुखा जमिनमाथि पार गराउनुभयो। तिनीहरूलाई घृणा गर्नेहरूदेखि र तिनीहरूका शत्रुहरूबाट उहाँले तिनीहरूलाई बचाउनुभयो। तर समुद्रको पानीले तिनीहरूका शत्रुहरूलाई डुबाए, एक जना पनि बाँचेन। तब उहाँका प्रजाले उहाँको प्रतिज्ञामा विश्‍वास गरे र उहाँको प्रशंसाका भजन गाए। तर उहाँले गर्नुभएको काम छिट्टै तिनीहरूले भुले र उहाँको सल्‍लाह नपर्खी आफ्‍ना काम गरे। मरुभूमिमा तिनीहरूले अनेक प्रकारका लालसा गरे र परमेश्‍वरको जाँच गरे। यसैले तिनीहरूले मागेका सबै कुराहरू उहाँले तिनीहरूलाई दिनुभयो, तर एउटा डरलाग्‍दो रोग पनि तिनीहरूका बीचमा पठाउनुभयो। परमप्रभुका पवित्र सेवकहरू; मोशा र हारूनलाई, तिनीहरूले मरुभूमिमा ईर्ष्‍या गरे। तब पृथ्‍वी फाट्यो र दातानलाई निल्‍यो र अबीराम र त्‍यसका परिवार त्‍यहाँ गाडिए। तिनीहरूका पछि लाग्‍नेहरूमाथि आगोको वर्षा भयो र ती दुष्‍ट मानिसहरू भस्‍म भए।

भजनसंग्रह 106 पढ्नुहोस्