भजनसंग्रह 106:6-18

भजनसंग्रह 106:6-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हाम्रा पुर्खाहरूले जस्‍तै हामीले पनि पाप गरेका छौं। हामीले अपराध गरेका छौं, हामीले दुष्‍ट्याइँ गरेका छौं। हाम्रा पुर्खाहरूले मिश्रदेशमा छँदा तपाईंका आश्‍चर्यकर्महरूको ख्‍यालै गरेनन्‌, तपाईंको प्रशस्‍त करुणा तिनीहरूले सम्‍झेनन्‌, र लाल समुद्रको किनारमा तिनीहरूले सर्वोच्‍च परमेश्‍वरको विद्रोह गरे। तापनि आफ्‍नो महापराक्रम प्रकट होस्‌ भनेर, उहाँले आफ्‍नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो। उहाँले लाल समुद्रलाई हप्‍काउनुभयो, र त्‍यो सुकिहाल्‍यो। यसरी उहाँले तिनीहरूलाई मरुभूमिको बाटोजस्‍तै गरी गहिरो ठाउँबाट डोर्‍याएर लैजानुभयो। उहाँले तिनीहरूलाई शत्रुको हातबाट बचाउनुभयो, शत्रुको हातबाट तिनीहरूलाई छुटाउनुभयो। तिनीहरूका विरोधीहरूलाई पानीले छोप्‍यो, उनीहरूमध्‍ये एक जना पनि बाँचेन। तब तिनीहरूले उहाँका वचनमाथि विश्‍वास गरे, र उहाँको प्रशंसा गरे। तर तिनीहरूले चाँड़ै उहाँका कार्यहरू बिर्सिहाले, र उहाँका सल्‍लाहको प्रतीक्षा तिनीहरूले गरेनन्‌। उजाड-स्‍थानमा तिनीहरूले आफूलाई आफ्‍नो तृष्‍णाको वशमा सुम्‍पिए, र तिनीहरूले मरुभूमिमा परमेश्‍वरको परीक्षा गरे। यसर्थ तिनीहरूले मागेका कुरा उहाँले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा शिथिलताको रोग पठाइदिनुभयो। छाउनीमा तिनीहरू मोशासित र परमप्रभुमा अर्पण गरिएका हारूनसँग डाहा गरे। धर्ती फाटेर दातानलाई निल्‍यो, र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्‍किउठ्यो, आगोको ज्‍वालाले दुष्‍टहरूलाई भस्‍म पार्‍यो।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्

भजनसंग्रह 106:6-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हाम्रा पितापुर्खाले झैँ, हामीले पनि पाप गरेका छौँ; हामीले अधर्म गरेका छौँ, र दुष्‍टतापूर्ण काम गरेका छौँ। हाम्रा पितापुर्खा इजिप्टमा हुँदा, तिनीहरूले तपाईंका अचम्मका कामहरूको वास्तै गरेनन्; तिनीहरूले तपाईंको अपार दयाको सम्झना नै गरेनन्; र लाल समुद्रको किनारमा तिनीहरूले तपाईंको विद्रोह गरे। तापनि आफ्नो महान् पराक्रम प्रकट होस् भनी आफ्नो नामको खातिर, उहाँले तिनीहरूलाई बचाउनुभयो। उहाँले लाल समुद्रलाई हकार्नुभयो, र त्यो सुकिहाल्यो; उहाँले तिनीहरूलाई समुद्रको गहिराइहरूमा सुक्खा जमिनमाथि जस्तै गरी पार गराउनुभयो। उहाँले तिनीहरूलाई वैरीका हातबाट बचाउनुभयो; उहाँले तिनीहरूलाई शत्रुको हातबाट उद्धार गर्नुभयो। तिनीहरूका विरोधीहरूलाई पानीले डुबायो; तिनीहरूमध्ये एउटै पनि बाँचेनन्। तब तिनीहरूले उहाँका प्रतिज्ञाहरूमाथि विश्‍वास गरे; र उहाँको प्रशंसाको गीत गाए। तर तिनीहरूले तुरुन्तै उहाँका कामहरू बिर्सिहाले; र तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्। मरुभूमिमा तिनीहरू धेरै नै खाने लालसामा परे; तिनीहरूले उजाडस्थानमा परमेश्‍वरको जाँच गरे। त्यसैले उहाँले तिनीहरूलाई मागेअनुसार दिनुभयो, तर तिनीहरूका बीचमा महामारी पठाउनुभयो। तिनीहरूले छाउनीमा मोशासित र याहवेहमा अर्पण गरिएका हारूनसँग डाह गरे। तब धर्ती फाटेर दातानलाई निल्यो; र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्क्यो; ज्वालाले दुष्‍टहरूलाई भस्म पार्‍यो।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्

भजनसंग्रह 106:6-18 पवित्र बाइबल (NERV)

हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए। हामी अन्योलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं! हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्य कामहरूबाट मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्। त्यहाँ लाल समुद्रद्वारा, हाम्रा पुर्खाहरू तपाईंका विरूद्ध उपस्थित भए। तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो। परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो। परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरुभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो! परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो। परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो। तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्। तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उहाँप्रति गुण-गान गरे। तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से। तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्। हाम्रा पिता-पुर्खाहरू मरुभूमिमा भोकाए अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे। तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो। तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो। मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो। यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो। त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो। तब त्यस भीडको माझमा आगो लाग्यो, र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्

भजनसंग्रह 106:6-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हाम्रा पिता-पुर्खाहरूले जस्‍तै हामीले पाप गरेका छौं, हामी खराब र दुष्‍ट बनेका छौं। मिश्रमा हाम्रा पुर्खाहरूले परमेश्‍वरका उदेकका कामहरू बुझेनन्, धेरै चोटि उहाँले तिनीहरूलाई देखाउनुभएको प्रेम तिनीहरूले भुले र लाल समुद्रमा तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको विद्रोह गरे। तर उहाँले प्रतिज्ञा गर्नुभएअनुसार आफ्‍ना परमशक्ति देखाउन उहाँले तिनीहरूलाई बचाउनुभयो। उहाँले लाल समुद्रलाई आज्ञा दिनुभयो र त्‍यो सुक्‍यो र उहाँले आफ्‍ना प्रजालाई सुखा जमिनमाथि पार गराउनुभयो। तिनीहरूलाई घृणा गर्नेहरूदेखि र तिनीहरूका शत्रुहरूबाट उहाँले तिनीहरूलाई बचाउनुभयो। तर समुद्रको पानीले तिनीहरूका शत्रुहरूलाई डुबाए, एक जना पनि बाँचेन। तब उहाँका प्रजाले उहाँको प्रतिज्ञामा विश्‍वास गरे र उहाँको प्रशंसाका भजन गाए। तर उहाँले गर्नुभएको काम छिट्टै तिनीहरूले भुले र उहाँको सल्‍लाह नपर्खी आफ्‍ना काम गरे। मरुभूमिमा तिनीहरूले अनेक प्रकारका लालसा गरे र परमेश्‍वरको जाँच गरे। यसैले तिनीहरूले मागेका सबै कुराहरू उहाँले तिनीहरूलाई दिनुभयो, तर एउटा डरलाग्‍दो रोग पनि तिनीहरूका बीचमा पठाउनुभयो। परमप्रभुका पवित्र सेवकहरू; मोशा र हारूनलाई, तिनीहरूले मरुभूमिमा ईर्ष्‍या गरे। तब पृथ्‍वी फाट्यो र दातानलाई निल्‍यो र अबीराम र त्‍यसका परिवार त्‍यहाँ गाडिए। तिनीहरूका पछि लाग्‍नेहरूमाथि आगोको वर्षा भयो र ती दुष्‍ट मानिसहरू भस्‍म भए।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्