फिलिप्पी 4:10-23

फिलिप्पी 4:10-23 सरल नेपाली

प्रभुमा म धेरै खुसी छु। धेरै समयपछि फेरि मेरो याद गर्ने मौका पायौ। यो भन्‍नुको मतलब मेरो याद गरेनौ भनेको होइन तर याद गर्ने मौका पाएका थिएनौ। म खाँचोमा भएँ भनेर यो मैले भनेको होइनँ कारण जे कुरा मसित छ, त्‍यसैमा सन्‍तोष मान्‍न मैले सिकेको छु। खाँचो पर्दा पनि र प्रसस्‍त हुँदा पनि कसरी जीवन चलाउने, म जान्‍दछु। जुनसुकै समयमा पनि, अघाए पनि, भोकाए पनि, धेरैमा पनि, थोरैमा पनि मैले सन्‍तुष्‍ट भएर जिउन सिकेको छु। म ख्रीष्‍टले दिनुभएको शक्तिले नै यी सबै कुरा गर्न सक्‍छु। तैपनि मलाई अप्‍ठ्यारो परेको बेला सहायता गरेर तिमीहरूले एकदमै राम्रो गर्‍यौ। सुरुमा मैले प्रचार गरी माकेडोनिया छोडेर जाँदा मलाई सहायता गर्ने मण्‍डली तिमीहरू मात्र थियौ। त्‍यो तिमीहरूलाई थाहै छ। मसँग लिन-दिनमा तिमीहरू मात्र भयौ। थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्‍ट सहायता गर्‍यौ। मैले तिमीहरूबाट दान पाउनलाई होइन तर तिमीहरूलाई नै लाभ होस् भन्‍ने चाहेको हुँ। मैले पाउनुपर्नेभन्दा बढ्ता पाएको छु। तिमीहरूले इपाफ्रोडिटसको हातमा पठाइदिएका दानहरू पाएर म तृप्‍त भएको छु। ती दानहरूचाहिँ परमेश्‍वरलाई मनपर्ने सुगन्‍धित र ग्रहणयोग्‍य बलिदान हुन्। मेरा परमेश्‍वरले नै तिमीहरूको खाँचो पूरा गर्नुहुनेछ। ख्रीष्‍ट येशूमा भएको उहाँको असीम धन सम्‍पत्तिबाट नै तिमीहरूलाई चाहिने कुरा दिनुहुनेछ। हाम्रा पिता परमेश्‍वरको सदासर्वदा जय-जयकार होइरहोस्! आमेन। ख्रीष्‍ट येशूमा भएका सबै पवित्र जनहरूलाई मेरो अभिवादन छ। यहाँ मसँग हुने भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। ख्रीष्‍ट येशूका सबै पवित्र जनहरूले अनि मुख्‍य गरेर रोमी सरकारको दरबारमा हुनेहरूले अभिवादन पठाएका छन्। प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्।

फिलिप्पी 4 पढ्नुहोस्