फिलिप्पी 4:10-23

फिलिप्पी 4:10-23 NNRV

म प्रभुमा साह्रै आनन्‍दित छु, कि अब धेरै दिनपछि मप्रति तिमीहरूको वास्‍ता फेरि पलाएको छ। तिमीहरू साँच्‍चै मेरो निम्‍ति चिन्‍तित थियौ, तर तिमीहरूलाई मौका मिलेन। खाँचो पर्‍यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु। कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु। तापनि मेरो कष्‍टमा तिमीहरू सहभागी भयौ, सो असल गर्‍यौ। तिमी फिलिप्‍पीहरू आफै पनि जान्‍दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्‍डलीको सहभागिता मसँग भएको थिएन, किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्‍दा बढ़ी नै मेरो निम्‍ति सहायता पठायौ। मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्‍तो फलको आशा राख्‍छु, जो तिमीहरूकै हिसाबमा जम्‍मा हुँदैजाओस्‌। मैले पाउनुपर्नेभन्‍दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्‍ना भएको, र परमेश्‍वरलाई मनपर्दो र ग्रहणयोग्‍य बलिदान पाएर म तृप्‍त भएको छु। मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूका परमेश्‍वर र पितालाई सदासर्वदा महिमा होस्‌। आमेन। ख्रीष्‍ट येशूमा हरेक सन्‍तलाई अभिवादन देओ। मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। सबै सन्‍तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग होस्‌।