योसेफका छोरा मनश्शे, मनश्शेका छोरा माकीर र तिनका छोरो गिलाद थिए। गिलादका छोरा हेपेर र तिनका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए। ती केटीहरू गएर मोशा, पूजाहारी एलाजार, अगुवाहरू र सारा इस्राएली समाजको सामुन्ने परमप्रभुले बास गर्ने पवित्र पालका ढोकामा उभिएर भने, “हाम्रा बुबा उजाड-भूमिमा मरे। उनका कोही छोरा थिएनन्। उनी कोरहको दलमा थिएनन्। कोरहले परमप्रभुका विरुद्धमा विद्रोह गरेका थिए। हाम्रा बुबा आफ्नै पापमा मरेका हुन्। उनको छोरो थिएन भन्दैमा हाम्रा बुबाको नाम इस्राएलदेखि मेटिनुपर्छ? हाम्रा बुबाका नाता-गोतासँगै हामीलाई सम्पत्ति दिनुहोस्।” मोशाले तिनका कुरा परमप्रभुको अघि लगे। परमप्रभुले भन्नुभयो, “सलोफादका छोरीहरूले जे बिन्ती गरेका छन्, त्यो उचित छ। तिनका बुबाका नाता-गोतासँगै तिनीहरूलाई सम्पत्ति दिनू। त्यसको अंश ती केटीहरूले पाऊन्। इस्राएलका मानिसहरूलाई भन्, कुनै मर्ने मानिसको छोरो छैन भने त्यसको सम्पत्तिमाथि त्यसकी छोरीको हक लाग्नेछ। त्यसकी छोरी पनि छैन भने त्यसका दाजुभाइले त्यो सम्पत्ति पाउनेछन्। यदि त्यसका भाइहरू पनि छैनन् भने त्यसको बुबाका दाजुभाइले त्यो सम्पत्ति पाउनेछन्। त्यसका दाजुभाइ वा काकाहरू छैनन् भने त्यसका सबैभन्दा नजिकका नातेदारले सम्पत्ति पाउनेछ र त्यसलाई आफ्नो निजी सम्पत्ति बनाउनेछन्। इस्राएलीहरूले यस नियमलाई कानुनी विधिको रूपमा मान्नुपर्नेछ, जस्तो म परमप्रभुले आज्ञा गरेको छु।”
गन्ती 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 27:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू