गन्ती 27:1-11

गन्ती 27:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

योसेफका छोरा मनश्‍शेका वंशहरूमा भएका मनश्‍शेका जनाति, माकीरका पनाति, गिलादका नाति, हेपेरका छोरा सलोफादका छोरीहरू महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए। तिनीहरू भेट हुने पालको ढोकामा मोशा, एलाजार पूजाहारी, नायकहरू र सबै समुदायको सामुन्‍ने उभिएर यसो भन्‍न लागे, “हाम्रा बुबा उजाड़-स्‍थानमा मरे, तर तिनी परमप्रभुको विरुद्धमा उठ्‌ने कोरहको दलमा थिएनन्, तर तिनी आफ्‍नै पापमा मरे। तिनका छोराहरू पनि थिएनन्‌। छोराहरू नहुँदैमा हाम्रा बुबाको आफ्‍नो वंशको नाउँ किन मासिने। हाम्रा बुबाका दाजुभाइहरूमा हामीलाई पनि सम्‍पत्ति दिनुहोस्‌।” मोशाले तिनीहरूको मामिला परमप्रभुकहाँ ल्‍याए। अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलोफादका छोरीहरूले उठाएको कुरा ठीकै हो। तैंले तिनीहरूलाई तिनका बुबाका दाजुभाइहरूसँग अधिकार दिनू। तैंले तिनीहरूलाई बुबाको उत्तराधिकारी बनाइदिनू। “तैंले इस्राएलीहरूलाई भन्, ‘कुनै मानिस छोरा नभई मर्‍यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनू। त्‍यसकी छोरी पनि छैन भने त्‍यसको अधिकार त्‍यसका दाजुभाइहरूलाई जाओस्‌। त्‍यसको दाजुभाइ पनि छैन भने त्‍यसको बाबुका दाजुभाइहरूलाई जाओस्‌। त्‍यसको बुबाका कुनै दाजुभाइ पनि छैन भने परिवारमा सबैभन्‍दा नजिकको साइनो पर्नेलाई त्‍यसको उत्तराधिकारी बनाइदिनू, र त्‍यसले त्‍यो आफ्‍नो हकमा लेओस्‌। परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम यो इस्राएलको निम्‍ति धर्म-विधान होस्‌’।”

शेयर गर्नुहोस्
गन्ती 27 पढ्नुहोस्

गन्ती 27:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

सलोफाद योसेफका छोरा मनश्शे वंशका थिए। मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद, गिलादका छोरा हेपेर र हेपेरका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा आए। अनि मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु भेट हुने पालको ढोकामा उभिएर भने, “हाम्रा बुबा उजाडस्थानमा मर्नुभयो। उहाँ याहवेहको विरुद्धमा दल बनाउने कोरहसँग हुनुहुन्‍नथ्यो; तर उहाँको आफ्नै पापको कारण मृत्यु भयो। उहाँका कुनै पनि छोराहरू थिएनन्। हाम्रा बुबाको छोरा छैन भनेर आफ्नो वंशबाट उहाँको नामलाई किन मेटाउनू? हामीलाई हाम्रा बुबाका आफन्तहरूसँगै अंश दिनुहोस्।” यसकारण मोशाले तिनीहरूको मुद्दा याहवेहका सामु ल्याए। अनि याहवेहले मोशालाई भन्‍नुभयो, “सलोफादका छोरीहरूले जे भनिरहेका छन्, त्यो सही हो। तैँले तिनीहरूलाई निश्‍चय नै तिनीहरूका बुबाका आफन्तहरूका बीचमा पैतृक सम्पत्तिको रूपमा अंश दिनू; र तिनीहरूलाई तिनीहरूका बुबाका उत्तराधिकार बनाइदिनू।” इस्राएलीहरूलाई भन्, “यदि कुनै मानिस मर्छ, र त्यसको कुनै छोरा छैन भने त्यसको सम्पत्ति त्यसका छोरीलाई नै नदिनू। यदि त्यसको कुनै छोरी पनि छैन भने त्यसको अंश त्यसको दाजुभाइलाई दिनू। यदि त्यसको दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको बुबाका दाजुभाइलाई दिनू। यदि त्यसको बुबाका दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको वंशमा भएको सबैभन्दा नजिकको आफन्तलाई दिनू; ताकि त्यस अंशमा त्यसको अधिकार होस्। याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलीहरूका निम्ति यो एउटा लागू गरिने कानुन होस्।”

शेयर गर्नुहोस्
गन्ती 27 पढ्नुहोस्

गन्ती 27:1-11 पवित्र बाइबल (NERV)

सेलोफादका पाँच जना छोरीहरू थिए, सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनश्शेका छोरा थिए र मनश्शे यूसुफका छोरा थिए। तिनीहरूको नाम यस प्रकारको थियोः महला, नोआ होग्ला, मिल्का र तिर्सा। तिनीहरू भेट हुने पालमा मोशा, पूजाहारी एलाजार, नायकहरू र सारा इस्राएली समुदायको सामुन्ने उभिएर भने, “हाम्रा पिता मरुभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो। उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाइहरूको बराबरमा जमीन दिनुहोस्।” यसर्थ मोशाले यो मामिला परमप्रभु अघि राखे। परमप्रभुले मोशालाई भन्नुभयो, “सेलोफाकी छोरीहरूले गरेको बिन्ति न्यायसँगत छ र तिनीहरूले आफ्नो पिताको दाज्यू-भाइहरूसितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहरूको पितालाई दिने थियौ त्यो जमीन तिनीहरूलाई देऊ। “इस्राएलका मानिसहरूको निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहरूले पाउनेछन्। उसकी छोरी पनि नभएको खण्ड त्यो सम्पत्ति उसको आफ्नो दाज्यू-भाइले पाउनेछ। फेरि यदि उसको दाज्यू-भाइ नभएको खण्डमा उसको काका-बडा-बाबुले पाउनेछ। उसको काका-बडा-बाबुहरू पनि नभएको खण्डमा उसको सम्पत्ति आफ्नो साख्खै आफन्तहरूले पाउनेछन्। इस्राएलका मानिसहरूमा यो नियम रहन्छ। यो आज्ञा परमप्रभुले मोशालाई दिनु भएको हो।’”

शेयर गर्नुहोस्
गन्ती 27 पढ्नुहोस्

गन्ती 27:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

योसेफका छोरा मनश्‍शे, मनश्‍शेका छोरा माकीर र तिनका छोरो गिलाद थिए। गिलादका छोरा हेपेर र तिनका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थिए। ती केटीहरू गएर मोशा, पूजाहारी एलाजार, अगुवाहरू र सारा इस्राएली समाजको सामुन्‍ने परमप्रभुले बास गर्ने पवित्र पालका ढोकामा उभिएर भने, “हाम्रा बुबा उजाड-भूमिमा मरे। उनका कोही छोरा थिएनन्‌। उनी कोरहको दलमा थिएनन्। कोरहले परमप्रभुका विरुद्धमा विद्रोह गरेका थिए। हाम्रा बुबा आफ्‍नै पापमा मरेका हुन्। उनको छोरो थिएन भन्‍दैमा हाम्रा बुबाको नाम इस्राएलदेखि मेटिनुपर्छ? हाम्रा बुबाका नाता-गोतासँगै हामीलाई सम्‍पत्ति दिनुहोस्।” मोशाले तिनका कुरा परमप्रभुको अघि लगे। परमप्रभुले भन्‍नुभयो, “सलोफादका छोरीहरूले जे बिन्‍ती गरेका छन्, त्‍यो उचित छ। तिनका बुबाका नाता-गोतासँगै तिनीहरूलाई सम्‍पत्ति दिनू। त्‍यसको अंश ती केटीहरूले पाऊन्। इस्राएलका मानिसहरूलाई भन्, कुनै मर्ने मानिसको छोरो छैन भने त्‍यसको सम्‍पत्तिमाथि त्‍यसकी छोरीको हक लाग्‍नेछ। त्‍यसकी छोरी पनि छैन भने त्‍यसका दाजुभाइले त्‍यो सम्‍पत्ति पाउनेछन्। यदि त्‍यसका भाइहरू पनि छैनन् भने त्‍यसको बुबाका दाजुभाइले त्‍यो सम्‍पत्ति पाउनेछन्। त्‍यसका दाजुभाइ वा काकाहरू छैनन् भने त्‍यसका सबैभन्दा नजिकका नातेदारले सम्‍पत्ति पाउनेछ र त्‍यसलाई आफ्‍नो निजी सम्‍पत्ति बनाउनेछन्। इस्राएलीहरूले यस नियमलाई कानुनी विधिको रूपमा मान्‍नुपर्नेछ, जस्‍तो म परमप्रभुले आज्ञा गरेको छु।”

शेयर गर्नुहोस्
गन्ती 27 पढ्नुहोस्