हिब्रू 11:10-16
हिब्रू 11:10-16 सरल नेपाली
अब्राहामले त परमेश्वर आफैंले योजना गरेर सधैँभरि रहने जगमा बनाउनुभएको सहरलाई पो पर्खिरहेका थिए। विश्वासकै भरमा अब्राहाम धेरै बुढो भएर पनि बुबा बन्न सके। सारा पनि सन्तान हुनै नसक्ने गरी बुढी भइसकेकी थिइन्। तैपनि अब्राहामले परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनेर विश्वास गरे। बुढो भएर मर्न लागेको एक जना मानिसबाट आकाशका ताराझैँ धेरै अनि समुद्रका बालुवाझैँ गन्नै नसकिने गरी सन्तान भए। यी सबै मानिसहरू विश्वास गरेर मरे। परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको कुरा तिनीहरूले पाएनन्। तैपनि परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई तिनीहरूले टाढैबाट देखे अनि स्वागत गरे। तिनीहरूले आफूलाई यस पृथ्वीमा बाटो हिंड्ने परदेशी र शरणार्थी सम्झे। यसो भन्नेहरूले त आफ्नै एउटा देश खोजिरहेका छन् भनी बुझिन्छ। आफूले छोडेर आएकै पहिलेको देशलाई तिनीहरूले सम्झिरहेनन्। त्यही देशलाई सम्झेका भए त फेरि तिनीहरू त्यहीं जान सक्थे। तर तिनीहरूले त यसभन्दा पनि राम्रो स्वर्गको देशको चाहना गरेका थिए। यसकारण तिनीहरूका परमेश्वर हुँ भन्न पनि परमेश्वर लजाउनुभएन किनभने उहाँले त तिनीहरूलाई दिने सहर तयार पारिदिनुभएको छ।


