हिब्रू 11:10-16
हिब्रू 11:10-16 NNRV
किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। विश्वासैद्वारा साराले पनि आफ्नो उमेर ढल्किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्त गरिन्। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वासयोग्य ठानेकी थिइन्। यसैकारण मरेतुल्य शरीर भइसकेको एउटै मानिसबाट आकाशका तारा जत्तिकै असंख्य र समुद्रका किनारका अनगिन्ती बालुवाका कण जत्तिकै सन्तान उत्पन्न भए। प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए। यस्ता कुरा भन्ने मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ। जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो। तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन्। यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु शर्माउनुहुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार पारिदिनुभएको छ।


