मैले सम्पूर्ण दललाई अहावा सहरतिर बग्ने नहरको छेउमा भेला गरें र हामी त्यहाँ तीन दिनसम्म डेरा गरेर बस्यौं। मैले देखें कि दलमा पूजाहारी त रहेछन् तर लेवीहरूचाहिँ थिएनन्। मैले नौ जना अगुवाहरू: एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया र मशुल्लाम र दुई जना गुरुहरू योयारीब र एल्नातानलाई बोलाउन पठाएँ। मैले तिनीहरूलाई कासिपिया जन-समुदायका मुखिया इद्दोकहाँ उनी र मन्दिरमा काम गर्ने उनका सहकर्मीहरूलाई मन्दिरमा परमेश्वरको सेवा गर्न मानिसहरू पठाइदेऊन् भनी खबर दिनलाई पठाएँ। परमेश्वरको अनुग्रहले तिनीहरूले हामीहरूकहाँ महली गोत्रका एक जना लेवी शरेबियाह अति योग्य मानिस पठाइदिए र उनीसँग उनका छोराहरू र कुटुम्बहरू गरी अठार जना पुरुषहरू आए। तिनीहरूले मरारी गोत्रबाट हशब्याह र यशयाहलाई पनि तिनका कुटुम्बबाट बीस जना पुरुषसहित पठाए। तीबाहेक दुई सय बीस जना मन्दिरका काम गर्ने थिए, जसका पिता-पुर्खालाई दाऊद राजा र उनका भारदारहरूले लेवीहरूलाई सघाउन नाम तोकिदिएका थिए। तिनीहरू सबैका नाम सूचीमा लेखिएका थिए। त्यहाँ अहावाको नहरछेउ मैले सबैलाई उपवास बस्न र आफैंलाई हाम्रा परमेश्वरको अघि नम्र बनाई हाम्रो यात्रामा उहाँको अगुवाइको निम्ति र हाम्रा छोरा-छोरी र धन-सम्पत्तिको रक्षाको निम्ति बिन्ती गर्न आज्ञा दिएँ। यात्रामा शत्रुहरूबाट हाम्रो रक्षाको निम्ति महाराजालाई घोडचढी सैनिक माग्न मलाई लाज लाग्यो किनभने मैले उनलाई हाम्रा परमेश्वरले उहाँमाथि भरोसा राख्ने सबैलाई आशिष् दिनुहुन्छ र उहाँलाई त्याग्नेहरूसित असन्तुष्ट भई दण्ड दिनुहुन्छ भनेको थिएँ। यसैकारण हामीहरू उपवास बस्यौं र हाम्रो रक्षाको लागि परमेश्वरलाई प्रार्थना गर्यौं र उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनुभयो। मुख्य पूजाहारीहरूबाट मैले शरेबियाह, हशब्याह र अरू दश जनालाई चुनें। तब मैले महाराजा, उनका सल्लाहकार र भारदारहरू र इस्राएलका मानिसहरूले मन्दिरमा चलाउन भनी दिएका सुन, चाँदी र भाँडा-कुँडा तौलेर ती पूजाहारीहरूलाई दिएँ। मैले तिनीहरूलाई यी कुराहरू दिएँ: चाँदी– २२,००० किलोग्राम १०० वटा चाँदीका भाँडाहरू ७० किलोग्राम सुन ३,४०० किलोग्राम २० वटा सुनका बटुकाहरू ९ किलोग्राम २ वटा सुन्दर कासाँका बटुकाहरू (सुनको दाम बराबर थियो) मैले तिनीहरूलाई भनें, “तिमीहरू परमप्रभु आफ्ना पुर्खाका परमेश्वरको निम्ति पवित्र छौ, त्यसरी नै उहाँलाई स्वेच्छाले भेटीका रूपमा चढाएका सुन र चाँदीका भाँडाहरू पनि पवित्र छन्। तिमीहरू मन्दिरमा नपुगेसम्म होशियारीसाथ तिनीहरूको रक्षा गर। त्यहाँ पुगेर पूजाहारीको कोठामा तिनीहरूको तौल लेओ र ती पूजाहारी र लेवीहरूका अगुवा र यरूशलेममा बास गर्ने इस्राएलीहरूका अगुवाहरूलाई देओ।” यसरी ती पूजाहारी र लेवीहरूले ती सुन, चाँदी र भाँडा-कुँडाहरू यरूशलेमका मन्दिरमा पुर्याउन आफ्ना जिम्मामा लिए। “पहिलो महिनाको बाह्रौँ दिन हामीले यरूशलेम जान अहावाको नहर छोड्यौं। हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र हामीलाई यात्रामा शत्रुहरूका आक्रमण र बाटो ढुकाइबाट बचाउनुभयो। यरूशलेम पुगेर हामीले तीन दिन बितायौँ। चौथो दिन हामी मन्दिर गयौं, चाँदी, सुन र भाँडाहरू तौलियौं र उरियाहको छोरो मरेमोत पूजाहारीका हातमा जिम्मा लाइदियौं। उनीसित पीनहासको छोरो एलाजार र दुई लेवीहरू येशूअको छोरो योजाबाद र बिन्नूईको छोरो नोअदिया थिए। सबै कुरा गन्ती गरी तौलियो र साथसाथै सम्पूर्ण कागज-पत्र तयार गरियो। “त्यसपछि कैदबाट फर्किआएका सबैले इस्राएलका परमेश्वरलाई होमबलि चढाउन आ-आफ्ना बलिदानहरू ल्याए। तिनीहरूले सारा इस्राएलको निम्ति बाह्र वटा साँढे, छयान्नब्बे ठूला भेडा र सतहत्तर वटा थुमा बलि गरे। तिनीहरूले बाह्र वटा बोका पनि आफैंलाई पापबाट चोख्याउँदै होमबलि चढाए। यी सबै पशुहरू परमप्रभुलाई होमबलि चढाई जलाइ। महाराजाले दिएका कागज-पत्र पनि लिएर तिनीहरूले पश्चिम यूफ्रेटिस प्रान्तका बडा-हाकिम र भारदारहरूलाई दिए र ती अधिकृतहरूले त्यसपछि इस्राएलीहरूलाई र मन्दिरको पूजा कार्यमा सहायता दिए।
एज्रा 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एज्रा 8:15-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू