एफिसी 3:1-7
एफिसी 3:1-7 सरल नेपाली
यसकारण तिमी अरू जातिका मानिसहरूको लागि ख्रीष्टको काम गर्दा म पावल कैदी भएको छु। तिमीहरूकै लागि मैले परमेश्वरको अनुग्रहको काम गर्ने भार पाएको छु भन्ने कुरा तिमीहरूले साँच्चै सुनेका छौ। परमेश्वरले आफ्ना भित्री योजना खोलिदिएर मलाई प्रकट गर्नुभयो। यसै बारेमा मैले तिमीहरूलाई पहिले नै संक्षेपमा लेखिसकेको छु। मैले लेखेको कुरा पढ्यौ भने मैले ख्रीष्टका रहस्य कति बुझेको रहेछु तिमीहरूलाई थाहा हुनेछ। पहिले यो रहस्य अरू कुनै मानिसलाई थाहा दिएको थिएन तर अहिले यो रहस्य आत्माद्वारा आफ्ना पवित्र प्रेरित र अगमवक्ताहरूलाई परमेश्वरले प्रकट गरिदिनुभएको छ। त्यो रहस्यचाहिँ यही हो, अरू जातिका मानिसले पनि सुसमाचारद्वारा इस्राएलीले जस्तै परमेश्वरको आशिष्हरू पाउन सक्छन्। अरू जातिका मानिस पनि एउटै शरीरका अङ्ग हुन् र ख्रीष्ट येशूमा परमेश्वरले गर्नुभएको प्रतिज्ञाको भागिदार भएका छन्। उहाँको विशेष वरदानद्वारा नै सुसमाचारको काम गर्ने सेवक म बनें, यो वरदान उहाँले आफ्नो शक्तिको कामबाट नै मलाई दिनुभयो।

