१ पत्रुस 2:19-25
१ पत्रुस 2:19-25 सरल नेपाली
तिमीले भोग्नुनपर्ने ठूलो दु:ख पनि परमेश्वरको इच्छा नै हो भनेर सह्यौ भने परमेश्वरले आशिष् दिनुहुनेछ। नराम्रो काम गर्दा सजाय पाउनु कुनै ठूलो कुरा छैन, तर राम्रो काम गर्दा पनि दु:ख भोग्यौ भने परमेश्वरले आशिष् दिनुहुनेछ। यसको लागि परमेश्वरले तिमीहरूलाई छान्नुभएको हो किनभने ख्रीष्टले पनि तिमीहरूका लागि दु:ख भोगेर नमुना भइदिनुभयो। त्यसो हुँदा तिमीहरूले पनि उहाँले देखाउनुभएको बाटोमा हिँड्नुपर्छ। उहाँले पाप गर्नु नै भएन, उहाँको मुखबाट झूटो कुरा निक्लेको कसैले सुनेन। कसैले उहाँको अपमान गर्दा पनि उहाँले जवाफ फर्काउनुभएन। दु:ख भोग्नुहुँदा पनि उहाँले धम्की दिनुभएन तर उहाँ ठीकसँग न्याय गर्नुहुने परमेश्वरमा नै भर पर्नुभयो। ख्रीष्टले हाम्रो पाप आफ्नो शरीरमा बोकेर काठको क्रूसमा झुण्डिनुभयो। त्यसो हुँदा हामी पनि पापको लागि मर्यौं अनि परमेश्वरलाई मन पर्ने असल कामको निम्ति बाँच्यौं। उहाँका चोटहरूमा तिमीहरू निको भयौ। तिमीहरू बरालिएका भेडाजस्तै थियौ, तर अब त तिमीहरूका आत्माका गोठाला र रक्षककहाँ उहाँलाई पछ्याउन तिमीहरूलाई ल्याइएको छ।

