इस्राएलको विषयमा परमप्रभुको वचन यही हो। आकाश फैलाउनुहुने, पृथ्वीको जग बसाल्नुहुने र मानिसको आत्मा त्यसभित्र रच्नुहुने परमप्रभु घोषणा गर्नुहुन्छ: “हेर, म यरूशलेमलाई त्यसका चारैतिरका मानिसहरूका निम्ति धरमराइदिने कचौरा तुल्याइदिनेछु। यरूशलेमको साथै यहूदा घेरामा पर्नेछ। त्यस दिन जब पृथ्वीका सबै जाति त्यसको विरुद्धमा जम्मा हुनेछन्, म यरूशलेमलाई सबै जातिहरूका निम्ति एउटा अटल चट्टान तुल्याइदिनेछु। त्यसलाई चलाउने सबैले साह्रै चोट पाउनेछन्। त्यस दिन म हरेक घोड़ालाई तर्साउनेछु र त्यसको सवारलाई पागल तुल्याइदिनेछु,” परमप्रभु भन्नुहुन्छ। “यहूदाको घरानामाथि म मेरो दृष्टि राख्नेछु, तर जाति-जातिको हरेक घोड़ालाई म अन्धो तुल्याइदिनेछु। तब यहूदाका अगुवाहरूले आ-आफ्नो हृदयमा यसो भन्नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्, किनकि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ’। “त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा आगोको मकलजस्तै र बिटाहरूका बीचमा जल्दोबल्दो राँकोजस्तै तुल्याउनेछु। तिनीहरूले चारैतिरका, दाहिने र देब्रे हाततिरका, सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेम आफ्नै स्थानमा कायम रहनेछ। “परमप्रभुले यहूदाका वासस्थानहरूलाई पहिले बचाउनुहुनेछ, र यसरी दाऊदका घरानाको गौरव र यरूशलेमका बासिन्दाहरूको गौरव यहूदाको भन्दा बढ्ता नहोस्। त्यस दिन परमप्रभुले यरूशलेमका बासिन्दाहरूको रक्षा गर्नुहुनेछ, अनि तिनीहरूमध्ये जो सबैभन्दा कमजोर छ त्यो दाऊदझैँ हुनेछ, र दाऊदको घराना परमेश्वरझैँ, र तिनीहरूका अगिअगि जाने परमप्रभुको स्वर्गदूतझैँ हुनेछ। त्यस दिन यरूशलेमको विरुद्धमा आउने सबै जाति-जातिहरूलाई सर्वनाश गर्ने मेरो युक्ति हुनेछ। “अनि म दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्मेको पुत्रको निम्ति गरेजस्तै शोक गर्नेछन्। मगिद्दोको बेँसीमा हदद-रिम्मोनको जस्तो ठूलो रुवाबासी भएको थियो, त्यस्तै ठूलो विलाप त्यस दिन यरूशलेममा हुनेछ। देशभरि प्रत्येक घरानाले, त्यसका पत्नीहरूलेसहित अलग-अलग्गै शोक गर्नेछन्, दाऊदका घरानाकाहरू र तिनका पत्नीहरू, नातानका घरानाकाहरू र तिनका पत्नीहरू, लेवीका घरानाकाहरू र तिनका पत्नीहरू, शिमीका वंश र तिनका पत्नीहरू, बाँकी रहेका सबै वंशहरू र तिनका पत्नीहरू विलाप गर्नेछन्।”
जकरिया 12 पढ्नुहोस्
सुन्नुहोस् जकरिया 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: जकरिया 12:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू