तीतस 1:10-16

तीतस 1:10-16 NNRV

किनभने धेरै जना मानिसहरू अरूका अधीनमा नबस्‍ने, बकवादी र छलीहरू हुन्‍छन्, झन्‌ विशेष गरी खतनावालहरू त यस्‍तै हुन्‍छन्‌। यिनीहरूको मुख बन्‍द गर्नुपर्छ, किनकि तिनीहरूले नीच लाभको लागि सारा परिवारलाई खलबल्‍याइराखेका छन्‌। यस्‍तो शिक्षा तिनीहरूले दिनुहुँदैनथियो। तिनीहरूमध्‍येका एक जना, तिनीहरूकै अगमवक्ताले भनेका छन्, “क्रेटका मानिसहरू सधैँ झूट बोल्‍ने, दुष्‍ट पशुहरू र अल्‍छे घिचुवाहरू हुन्‍छन्‌।” यो गवाही साँचो हो। त्‍यसैकारण तिनीहरूलाई कड़ासित हप्‍काऊ, ताकि तिनीहरू विश्‍वासमा पक्‍का होऊन्, र सत्‍यतालाई इन्‍कार गर्ने मानिसहरूका आज्ञा र यहूदी दन्‍त्‍यकथामा ध्‍यान नलगाऊन्‌। शुद्धहरूलाई सबै थोक शुद्धै हुन्‍छन्, तर अशुद्ध र अविश्‍वासीहरूलाई चाहिँ केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र विवेकसमेत भ्रष्‍ट भएका हुन्‍छन्‌। तिनीहरू परमेश्‍वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्‍ना कामद्वारा उहाँलाई इन्‍कार गर्दछन्‌। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्‍छन्, र कुनै पनि असल कामको निम्‍ति योग्‍यका हुँदैनन्‌।