श्रेष्‍ठगीत 2:1-13

श्रेष्‍ठगीत 2:1-13 NNRV

म त शारोनको गुलाफ र बेँसीमा उम्रने लिली फूल हुँ, काँढ़ाहरूका माझमा फुलेको लिली फूलझैँ मेरी प्‍यारी अन्‍य कन्‍येहरूका बीचमा छिन्‌। वनमा भएका रूखहरूमध्‍ये स्‍याउको रूखजस्‍तै पुरुषहरूका बीचमा मेरा प्रेमी हुनुहुन्‍छ। त्‍यस छहारीमा म बड़ो आनन्‍दले बस्‍छु अनि उहाँको फलको स्‍वाद मलाई साह्रै मीठो लाग्‍छ। उहाँले मलाई भोजको गृहमा लानुभएको छ, र ममाथि भएको उहाँको झन्‍डा प्रेम हो। मलाई सजीव पार्न किसमिसको परिकार दिनुहोस्, स्‍याउले मलाई ताजा बनाउनुहोस्‌ किनभने म प्रेमले शिथिल भएकी छु। उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ। यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्‍म प्रेमलाई नउठाओ वा नजगाओ। सुन! मेरा प्रेमीको सोर! हेर त! उहाँ आउँदैहुनुहुन्‍छ, पहाड़हरूमा हामफाल्‍दै डाँड़ाहरू हुँदो दर्गुदै आउनुहुन्‍छ। मेरा प्रेमी त एउटा हरिण वा जवान मृगजस्‍तै हुनुहुन्‍छ। हेर त! उहाँ हाम्रो पर्खालको पछाड़ि उभिनुभएको छ, उहाँले झ्‍यालहरूभित्र हेर्दैहुनुहुन्‍छ, आँखी-झ्‍यालभित्र चियाउँदैहुनुहुन्‍छ। मेरा प्रेमी बोल्‍नुभयो र मलाई भन्‍नुभयो, “उठ, हे मेरी प्‍यारी, मेरी सुन्‍दरी, र मसित आऊ। हेर, अब हिउँद बित्‍यो, वर्षा पनि सिद्धियो। पृथ्‍वीमा फूलहरू देखा पर्न थाले, गीत गाउने समय आयो, र ढुकुर कुर्लेको सोर हाम्रो देशमा सुनिन्‍छ। अञ्‍जीरका बोटमा अञ्‍जीरका हरिया दाना लागेका छन्, र दाखबारीमा दाखको फूलले मीठो बास्‍ना फिँजाउँछ। उठ, मेरी प्‍यारी, मेरी सुन्‍दरी, र मसित आऊ।”