रूथ 2:18-23

रूथ 2:18-23 NNRV

अनि त्‍यो बोकेर तिनी सहरमा आइन्, अनि तिनकी सासूले तिनले बटुलेर ल्‍याएकी धेरै शिला-बाला देखिन्‌। त्‍यसपछि रूथले आफूले खाएर उबारेको कुरो पनि निकालेर तिनलाई दिइन्‌। तिनकी सासूले तिनलाई सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्‍यौ? तिमीले कहाँ काम गर्‍यौ? ती मानिस धन्‍यका होऊन्‌ जसले कृपा गरी तिम्रो हेरचाह गरे।” यसैकारण तिनले आफ्‍नी सासूलाई आफू कसकहाँ काम गरिन्‌ भनी बताइदिइन्‌। तिनले भनिन्, “मैले साथै काम गरेका मानिसको नाउँ बोअज रहेछ।” तब नाओमीले भनिन्, “परमप्रभुले तिनलाई आशिष्‌ देऊन्, परमप्रभुले जिउँदा र मरेकाहरूमाथि कृपा गर्न छोड्‌नुभएको छैन। किनभने ती मानिस त हाम्रा नजिकका कुटुम्‍ब, मोल तिरी छुटाउने हुन्‌।” तब मोआबी रूथले भनिन्, “त्‍यसबाहेक उहाँले त मलाई सबै कटनी खतम नहोउञ्‍जेल उहाँका मानिसहरूसँगै लागिरहनू भनी भन्‍नुभयो।” नाओमीले भनिन्, “हे मेरी छोरी, तिनका ठिटीहरूसँगै जान तिमीलाई बेस होला, किनकि अरूको खेतमा तिमीलाई खतरा होला।” यसकारण तिनी बोअजका ठिटीहरूसाथसाथै जौ र गहूँका कटनी खतम नहोउञ्‍जेल शिला-बाला बटुल्‍नमा लागिरहिन्‌। तर तिनी आफ्‍नी सासूकै साथमा बस्‍थिन्‌।