रूथ 1:1-14

रूथ 1:1-14 NNRV

उहिले नै न्‍यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्‍यो, अनि यहूदाको बेथलेहेमबाट कुनै एक जना मानिस आफ्‍नी पत्‍नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्‍नलाई गए। ती मानिसको नाउँ एलीमेलेक थियो। तिनकी पत्‍नीको नाउँ नाओमी र तिनका दुई छोराहरूका नाउँ महलोन र किल्‍योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए, र त्‍यहीँ बस्‍न लागे। नाओमीका पति एलीमेलेक मरे, र तिनी आफ्‍ना दुई छोराहरूसँग छोड़िइन्‌। यी छोराहरूले मोआबी स्‍त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्‍यहाँ प्राय: दश वर्ष बसेपछि दुवै महलोन र किल्‍योन पनि मरे। यसरी ती स्‍त्री आफ्‍ना दुई छोराहरू र आफ्‍ना पतिबाट पनि बिछोड़ भइन्‌। परमप्रभुले आफ्‍ना मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्‍ने कुरा जब तिनले मोआब देशमा सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्‍यहाँबाट घर फर्कन तयार गर्न लागे। तब आफ्‍ना दुई बुहारीहरूलाई साथमा लिएर आफू बसेको ठाउँ तिनले छोड़िन्, र आफ्‍नो घर यहूदाको बाटो लागिन्‌। तब नाओमीले आफ्‍ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू दुवै आ-आफ्‍नो माइती घर फर्क। जसरी तिमीहरूले ती मरिसकेकाहरू र मप्रति दयापूर्ण व्‍यवहार गरेका थियौ, त्‍यसरी नै परमप्रभुले पनि तिमीहरूप्रति दयापूर्ण व्‍यवहार गरून्, अनि उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आ-आफ्‍ना भविष्‍यका पतिका घरमा सुरक्षित राखून्‌।” तब तिनले उनीहरूलाई चुम्‍बन गरिन्, र तिनीहरू डाँको छोड़ी-छोड़ीकन रोए। त्‍यसपछि उनीहरूले तिनलाई भने, “हामी तपाईंका मानिसहरूकहाँ तपाईंसँग जानेछौं।” तर नाओमीले भनिन्, “हे मेरा छोरी हो, फर्क, तिमीहरू किन मसँग आउने? के तिमीहरूका पति हुनलाई म अझै छोराहरू जन्‍माउन सक्‍छु र? फर्क, मेरा छोरी हो, जाऊ। किनकि फेरि विवाह गर्नलाई म बूढ़ी भइसकेकी छु। नानी पाउन अझै आशा भए, र मैले आज राती नै विवाह गरेर छोराहरू पाएँ भने पनि तिनीहरू बढुञ्‍जेल तिमीहरू पर्खन्‍छौ र? के तिमीहरू विवाह नगरी बस्‍छौ? होइन, होइन मेरा छोरी हो, परमप्रभु मेरो विरुद्धमा हुनुभएकोले मेरो अवस्‍था तिमीहरूको भन्‍दा खोटो छ।” तब तिनीहरू फेरि डाँको छोड़ी-छोड़ीकन रोए। त्‍यसपछि ओर्पाले आफ्‍नी सासूलाई चुम्‍बन गरेर आफ्‍ना मानिसकहाँ फर्केर गइन्, तर रूथचाहिँ तिनीसितै टाँसिरहिन्‌।