रोमी 8:9-17

रोमी 8:9-17 NNRV

यदि साँच्‍चै परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, तिमीहरू पापमय स्‍वभावमा होइन, तर पवित्र आत्‍मामा हुन्‍छौ। तर कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन। यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्‍मा धार्मिकताको कारणले जिउँदा हुन्‍छन्‌। तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, ख्रीष्‍ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्‍माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। यसैले त भाइ हो, पापमय स्‍वभावअनुसार जिउनलाई हामी पापमय स्‍वभावप्रति बाध्‍य छैनौं। किनकि पापमय स्‍वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्‍माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्‍यौ भने, तिमीहरू जिउनेछौ। किनभने सबै, जो परमेश्‍वरका आत्‍माले डोर्‍याइएका हुन्‍छन्, तिनीहरू नै परमेश्‍वरका सन्‍तान हुन्‌। किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं, त्‍योचाहिँ हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्‍माले हाम्रो आत्‍मासँग गवाही दिनुभएको हो। र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।