रोमी 1:1-17

रोमी 1:1-17 NNRV

म पावल, येशू ख्रीष्‍टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरको त्‍यस सुसमाचारको निम्‍ति अलग गरिएको हुँ, जुन सुसमाचार उहाँले अघिबाटै आफ्‍ना अगमवक्ताद्वारा पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार परमेश्‍वरका पुत्रको विषयमा हो, जसको जन्‍म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो। येशू ख्रीष्‍ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्‍माअनुसार शक्तिमा परमेश्‍वरका पुत्र ठहरिनुभयो। उहाँका नाउँको खातिर विश्‍वासद्वारा आउने आज्ञापालन सबै जातिहरूका बीचमा ल्‍याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं। तिमीहरू पनि तिनीहरूसँगसँगै येशू ख्रीष्‍टका हुन बोलाइएका छौ। रोममा भएका तिमीहरू सबै, परमेश्‍वरका प्रियहरू, जो सन्‍त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति। सर्वप्रथम, म मेरा परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा तिमीहरू सबैका निम्‍ति धन्‍यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्‍वासको कुरा सारा संसारमा प्रचार भएको छ। म सम्‍पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ कि कसरी म निरन्‍तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु। अनि यो माग्‍दछु, कि कुनै किसिमले परमेश्‍वरको इच्‍छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ। किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्‍मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्‌ने उत्‍कट इच्‍छा गर्दछु। यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्‍परिक विश्‍वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्‍साहन पाउन सकौं। भाइ हो, तिमीहरूलाई थाहा होस्‌ भन्‍ने म चाहन्‍छु, कि म तिमीहरूका र बाँकी अन्‍यजातिहरूका बीचमा पनि केही फल बटुल्‍न सकूँ भनेर तिमीहरूकहाँ आउने धेरै पल्‍ट इच्‍छा गरें। तर म अहिलेसम्‍म रोकिएको छु। ग्रीक होस्‌ वा अरू असभ्‍य जाति, बुद्धिमान्‌ होस्‌ वा निर्बुद्धि, सबैको म ऋणी छु। यसैले सकेसम्‍म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्‍सुक छु। किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्‍वास गर्ने प्रत्‍येकका मुक्तिको निम्‍ति यो परमेश्‍वरको शक्ति हो, पहिले यहूदीहरूका निम्‍ति र अन्‍यजातिहरूका निम्‍ति पनि। किनकि सुसमाचारमा परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्‍यो धार्मिकता जोचाहिँ सम्‍पूर्ण रूपले विश्‍वासद्वारा नै आउँछ। यस्‍तो लेखिएको छ, “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”