एक पल्ट तपाईंले आफ्ना पवित्र जनहरूसित दर्शनमा बोल्नुभयो, र भन्नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्च पारेको छु। मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्यसलाई अभिषेक गरेको छु। मेरो हातले त्यसलाई थाम्नेछ, मेरो पाखुराले त्यसलाई अवश्य बलियो बनाउनेछ। कुनै शत्रुले त्यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्ट मानिसले त्यसलाई दु:ख दिनेछ। त्यसका विरोधीहरूलाई त्यसकै सामनेमा म चूर्ण पार्नेछु, त्यसका विरोधीहरूलाई प्रहार गर्नेछु। मेरो विश्वस्त प्रेम त्यससँग हुनेछ, र मेरो नाउँद्वारा त्यसको सीङ ठाडो हुनेछ। म त्यसको शासन समुद्रसम्म बढ़ाउनेछु, र त्यसको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्याउनेछु। त्यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्छ, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ।’ म त्यसलाई मेरो जेठो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। म मेरो करुणा त्यसको निम्ति सदासर्वदा राख्नेछु, र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन। त्यसको वंशलाई म सदाको लागि स्थापना गर्नेछु, र त्यसको सिंहासन आकाशको अस्तित्व रहेसम्म राख्नेछु। “यदि त्यसका सन्तानले मेरो व्यवस्था त्यागे भने, र मेरा कानूनहरूमा चलेनन् भने, यदि तिनीहरूले मेरा विधिहरू भङ्ग गरे भने, र मेरा आज्ञाहरू मानेनन् भने, म तिनीहरूका पापको सजाय छड़ीले, र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु। तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्वस्तताको कहिल्यै धोकाबाजी गर्नेछु। म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्केको वचन बद्लनेछैनँ। मैले सदाकालको निम्ति आफ्नो पवित्रताको यो शपथ खाएको छु— अनि दाऊदलाई म ढाँट्नेछैनँ— कि त्यसको वंश सदाको निम्ति रहनेछ, र त्यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्थिर रहनेछ। आकाशमा रहेको विश्वसनीय साक्षी चन्द्रमाझैँ, सदाकालको लागि त्यो स्थापित रहनेछ।” सेला
भजनसंग्रह 89 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 89
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 89:19-37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू