भजनसंग्रह 86:1-10

भजनसंग्रह 86:1-10 NNRV

हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌ र उत्तर दिनुहोस्‌, किनभने म दरिद्र र अभावग्रस्‍त छु। मेरो रक्षा गरिदिनुहोस्‌, किनकि म तपाईंको भक्त हुँ। तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, तपाईंको सेवकलाई बचाउनुहोस्‌, जसले तपाईंमाथि भरोसा गर्दछ। हे परमप्रभु, ममाथि दया गर्नुहोस्‌, किनकि म दिनभरि तपाईंको पुकारा गरिरहन्‍छु। आफ्‍नो दासलाई हर्षित पार्नुहोस्‌, किनकि हे परमप्रभु, म आफ्‍नो प्राण तपाईंतिर उचाल्‍दछु। हे परमप्रभु, तपाईं भला र क्षमाशील हुनुहुन्‍छ, र तपाईंलाई पुकारा गर्नेहरू सबैलाई तपाईंको प्रेम प्रशस्‍त रहन्‍छ। हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनुहोस्‌, र दयाको निम्‍ति मेरो विनयको आवाजलाई सुन्‍नुहोस्‌। मेरो सङ्कष्‍टको दिनमा म तपाईंलाई पुकारा गर्छु, किनकि तपाईंले उत्तर दिनुहुन्‍छ। हे परमप्रभु, देवहरूमा तपाईं समान अरू कोही छैनन्‌, तपाईंका कार्यहरूजस्‍ता अरू कसैको छैनन्‌। हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जातिहरू तपाईंको अगि झुक्‍नेछन्‌, र तिनीहरूले तपाईंका नाउँको आराधना गर्नेछन्‌। किनकि तपाईं महान्‌ हुनुहुन्‍छ र आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ। तपाईं एकमात्र परमेश्‍वर हुनुहुन्‍छ।