कति पल्ट तिनीहरू मरुभूमिमा उहाँको विरुद्ध विद्रोही भए,
र उजाड-स्थानमा उहाँलाई दु:खित तुल्याए।
तिनीहरूले घरीघरी उहाँको परीक्षा गरे,
र इस्राएलका परमपवित्रलाई क्रुद्ध तुल्याए
तिनीहरूले उहाँको शक्तिलाई स्मरण गरेनन्, त्यस दिनको पनि सम्झना गरेनन्, जुन दिन उहाँले मोल तिरेर तिनीहरूलाई तिनका अत्याचारीहरूबाट छुटकारा दिनुभयो,
जुन दिन उहाँले मिश्रदेशमा आफ्ना चिन्ह देखाउनुभयो,
र सोअनको मैदानमा आश्चर्यकर्महरू गर्नुभयो।
उहाँले तिनीहरूका नदीहरू रगतमा परिणत गरिदिनुभयो,
र तिनीहरूले नदीको पानी पिउन सकेनन्।
उहाँले तिनीहरूका बीचमा झीँगाहरू पठाउनुभयो, जसले तिनीहरूलाई टोके,
र भ्यागुताहरू, जसले तिनीहरूलाई उजाड पारे।
उहाँले तिनीहरूका फसल फटेंग्राहरूलाई दिनुभयो,
र तिनीहरूका परिश्रमको फल सलहलाई।
उहाँले तिनीहरूका अंगूरका बोटहरू असिनाले,
र तिनीहरूका अञ्जीरका बोटहरू तुसारोले नष्ट गरिदिनुभयो।
उहाँले तिनीहरूका गाईबस्तुको बथानलाई असिनाले,
र तिनीहरूका भेड़ाबाख्राको बगाललाई बिजुलीले प्रहार गर्नुभयो।
उहाँले तिनीहरूलाई आफ्नो प्रचण्ड, क्रोध, कोप, रीस र शत्रुता— अर्थात् विनाशकारी दूतहरूको एक दल पठाउनुभयो।
उहाँले आफ्नो क्रोधको एउटा मार्ग तयार गर्नुभयो,
र तिनीहरूलाई मृत्युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्पनुभयो।
उहाँले मिश्रदेशका सबै ज्येष्ठ सन्तानलाई, हामका पालमा जवानीको पहिलो फललाई मार्नुभयो।
तर उहाँले आफ्ना मानिसहरूलाई भेड़ाहरूलाई झैँ बाहिर निकालिल्याउनुभयो, र उहाँले तिनीहरूलाई भेड़ाको बगाललाई झैँ उजाड-स्थानको बीचबाट अगुवाइ गर्नुभयो।
उहाँले तिनीहरूलाई सुरक्षासाथ डोर्याउनुभयो, यसैले तिनीहरू डराएनन्। तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्यो।
यसरी परमेश्वरले तिनीहरूलाई आफ्नो पवित्र भूमिको साँधमा ल्याउनुभयो, त्यही पहाडी देशमा, जो उहाँले आफ्नो दाहिने बाहुलीले जित्नुभएको थियो।
उहाँले जातिहरूलाई तिनीहरूका सामु लखेटिदिनुभयो, अनि उनीहरूका जमिन भाग-भाग गरी पैतृक-सम्पत्तिझैँ इस्राएलीहरूलाई दिनुभयो,
र कुल-कुललाई उनीहरूका पालमा बसाल्नुभयो।
तर तिनीहरूले परमेश्वरको परीक्षा गरे,
र सर्वोच्चको विरुद्धमा बागी भए,
र उहाँका कानूनहरू पालन गरेनन्।
तिनीहरू आफ्ना पुर्खाहरूझैँ बेवफादार र विश्वासघाती बने,
र भर पर्न नसकिने बिग्रेको धनुझैँ भए।
तिनीहरूले डाँड़ाका थानहरूमा वेदी स्थापित गरी उहाँलाई क्रोधित तुल्याए,
र तिनीहरूले आफ्ना मूर्तिहरूले उहाँलाई ईर्ष्यालु बनाए।
जब परमेश्वरले यो सुन्नुभयो, तब उहाँ अत्यन्त क्रोधित हुनुभयो,
र इस्राएलीहरूलाई पूर्ण रूपले इन्कार गर्नुभयो।
उहाँले शीलोमा भएको पवित्र वासस्थान त्याग्नुभयो, त्यो पाल जो उहाँले मानिसहरूका बीचमा राख्नुभएको थियो।
उहाँले आफ्नो शक्तिको सन्दूक शत्रुहरूका हातमा पठाइदिनुभयो, आफ्नो गौरव शत्रुहरूका हातमा जान दिनुभयो।
उहाँले आफ्नो प्रजा तरवारलाई सुम्पनुभयो,
र आफ्नो उत्तराधिकारका मानिसहरूसँग औधी रिसाउनुभयो।
आगोले तिनीहरूका जवानहरू भस्म पारिए,
र तिनीहरूका कन्याहरूका निम्ति विवाहको गीत भएन।
तिनीहरूका पूजाहारीहरू तरवारले काटिए,
र तिनीहरूका विधवाहरूले शोक मनाउन सकेनन्।
तब परमप्रभु निद्राबाट बिउँझेझैँ बिउँझनुभयो, मद्यको उन्मादबाट बिउँझेको मानिसझैँ।
उहाँले आफ्ना विरोधीहरूलाई तितरबितर पार्नुभयो, उहाँले उनीहरूलाई सदाको निम्ति शर्ममा पार्नुभयो।
तब उहाँले योसेफका सन्तानलाई त्याग्नुभयो, उहाँले एफ्राइमको कुललाई छान्नुभएन।
तर उहाँले यहूदाको कुललाई चुन्नुभयो, सियोन पर्वतलाई, जसलाई उहाँले प्रेम गर्नुभयो।
उहाँले आफ्नो पवित्रस्थान उच्च स्वर्गझैँ बनाउनुभयो,
र पृथ्वीजस्तै, जो उहाँले सदाको लागि स्थापित गर्नुभएको छ।
उहाँले आफ्ना दास दाऊदलाई चुन्नुभयो,
र तिनलाई भेड़ाहरूको गोठबाट लिनुभयो।
भेड़ाहरूको रखवाली गर्ने कामबाट, उहाँले दाऊदलाई याकूबका सन्तान,
र आफ्नो उत्तराधिकार इस्राएलको गोठालो हुनलाई ल्याउनुभयो।
दाऊदले हृदयको ईमानदारीसाथ तिनीहरूलाई चराए, अनि निपुण हातले तिनीहरूको नेतृत्व गरे।