YouVersion Logo
Search Icon

भजनसंग्रह 68

68
परमेश्‍वरको निम्‍ति जयजयकारको गीत
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन
1परमेश्‍वर उठून्‌, उहाँका शत्रुहरू छरपष्‍ट भइजाऊन्‌। उहाँका शत्रुहरू उहाँको सामुबाट भागून्‌।
2जसरी हावाले धूवाँलाई उड़ाएर लैजान्‍छ, त्‍यसरी नै तिनीहरूलाई उड़ाउनुहोस्‌। आगोको सामु मैन बिलाएझैँ, दुष्‍टहरू परमेश्‍वरको सामु नष्‍ट भइजाऊन्‌।
3तर धर्मीहरूचाहिँ खुशी होऊन्‌, तिनीहरू परमेश्‍वरको अगि उल्‍लसित होऊन्‌, तिनीहरू हर्षले प्रफुल्‍लित होऊन्‌।
4परमेश्‍वरको निम्‍ति भजन गाओ, उहाँका नाउँको स्‍तुति गाओ, बादलहरूमाथि सवार हुनुहुनेको निम्‍ति एउटा भजन गाओ। उहाँको नाउँ परमप्रभु हो, तिमीहरू उहाँको अगि उल्‍लसित होओ।
5परमेश्‍वर आफ्‍नो पवित्र वासस्‍थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्‍छ।
6एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्‍नुहुन्‍छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्‍दित तुल्‍याउनुहुन्‍छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्‌।
7हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानिसहरूका अगिअगि निस्‍कनुभयो, जब तपाईं उजाड-स्‍थानबाट भएर अगि बढ्‌नुभयो, सेला
8पृथ्‍वी काम्‍यो, आकाशले वृष्‍टि खन्‍यायो,#प्रस १९:१८ परमेश्‍वरको सामु, सीनैमा हुनुहुने, परमेश्‍वरको सामु, इस्राएलका परमेश्‍वर।
9हे परमेश्‍वर, तपाईंले मुसलधार पानी बर्साउनुभयो, ओइलिसकेको तपाईंको भूमिलाई पुनर्स्‍थापन गर्नुभयो।
10तपाईंका मानिसहरूले त्‍यस भूमिमा बसोबास गरे, अनि आफ्‍नो प्रशस्‍तताबाट, हे परमेश्‍वर, तपाईंले दरिद्रहरूको भरणपोषण गर्नुभयो।
11परमप्रभुले वचन बोल्‍नुभयो, अनि वचनको घोषणा गर्नेको समूह ठूलो थियो:
12“राजा र सेना आतुरीसाथ भाग्‍छन्‌, छाउनीमा मानिसहरू लूटका माल बाँड्‌छन्‌,
13तिमीहरू आगोका धुनीका बीचमा सुत्‍दा पनि मेरो ढुकुरका पखेटाचाहिँ चाँदीले मोहोरिएका छन्‌,
र त्‍यसका प्‍वाँखहरू चम्‍किलो सुनले मोहोरिएका छन्‌।”
14जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा तितरबितर पार्नुभयो, तब त्‍यो सल्‍मोन डाँड़ामा हिमपात भएकोजस्‍तो थियो।
15बाशानका पहाड़हरू गौरवशाली छन्‌, बाशानका पहाड चट्टानै-चट्टानले पूर्ण छन्‌।
16हे रूखा पर्वतहरू, ईर्ष्‍याले त्‍यो पर्वततिर किन हेर्छौ, जहाँ परमेश्‍वरले शासन गर्न खोज्‍नुभएको छ, जहाँ स्‍वयम्‌ परमप्रभु सदासर्वदा वास गर्नुहुनेछ?
17परमेश्‍वरका रथहरू लाखौँ छन्‌,
र हजारमाथि हजार। परमेश्‍वर सीनै पर्वतबाट आफ्‍नो पवित्रस्‍थानमा आउनुभएको छ।
18जब तपाईं उच्‍चमा चढ़िजानुभयो,#एफि ४:८ तपाईंले कैदीहरूलाई बन्‍दी बनाएर लानुभयो। तपाईंले मानिसहरूबाट उपहार स्‍वीकार गर्नुभयो, बागीहरूसमेतबाट पनि—
कि तपाईं, हे परमप्रभु परमेश्‍वर, त्‍यहाँ वास गरून्‌।
19परमप्रभुको प्रशंसा होस्‌, हाम्रा उद्धारक परमेश्‍वरको, जसले दिनहुँ हाम्रा बोझा उठाउनुहुन्‍छ। सेला
20हाम्रा परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ,
र परमप्रभु परमेश्‍वरमा नै मृत्‍युबाट मुक्ति छ।
21निश्‍चय नै परमेश्‍वरले आफ्‍ना शत्रुहरूका टाउको कुच्‍च्‍याउनुहुनेछ, ती मानिसहरूको केशले भरिएका टाउको जो आफ्‍ना पापमा लागिरहन्‍छन्‌।
22परमप्रभु भन्‍नुहुन्‍छ, “म तिनीहरूलाई बाशानबाट ल्‍याउनेछु, म तिनीहरूलाई समुद्रको गहिराइबाट ल्‍याउनेछु।
23यसरी तिमीहरूले आफ्‍ना खुट्टा शत्रुहरूको रगतमा चोबल्‍नेछौ,
र तिमीहरूका कुकुरका जिब्राले पनि त्‍यसमा भाग पाउनेछन्‌।”
24हे परमेश्‍वर, तपाईंको शोभा-यात्रा देखिएको छ, मेरा परमेश्‍वर र महाराजाको शोभा-यात्रा पवित्रस्‍थानतिर प्रस्‍थान भइरहेको छ।
25अगिअगि गायकहरू छन्‌, तिनीहरूका पछिपछि वादकहरू,
र तिनीहरूसित खैँजड़ी बजाउने कन्‍याहरू।
26ठूलो सभामा परमेश्‍वरको प्रशंसा गर, इस्राएलको समुदायमा परमप्रभुको प्रशंसा गर।
27सबैभन्‍दा कनिष्‍ठ बेन्‍यामीनको कुलले तिनीहरूको अगुवाइ गर्दैछ, यहूदाका शासकहरू तिनीहरूको दलमा सामेल छन्‌, जबूलूनका र नप्‍तालीका शासकहरू पनि छन्‌।
28हे परमेश्‍वर, आफ्‍नो शक्ति बोलाउनुहोस्‌, अघि गर्नुभएजस्‍तै, हे परमेश्‍वर, आफ्‍नो शक्ति हामीलाई देखाउनुहोस्‌।
29यरूशलेममा तपाईंका मन्‍दिरको खातिर राजाहरूले तपाईंको निम्‍ति भेटी ल्‍याउनेछन्‌।
30नर्कटहरूका बीचमा रहने पशुलाई हप्‍काउनुहोस्‌, जाति-जातिका बाछाहरूका बीचमा साँढ़ेको झुण्‍डलाई डाँट्‌नुहोस्‌। पराजित भएपछि, यिनले चाँदीका टुक्राहरू ल्‍याऊन्‌। लड़ाइँमा खुशी हुने जातिलाई छरपष्‍ट पारिदिनुहोस्‌।
31मिश्रदेशबाट राजदूतहरू आउनेछन्‌, कूशले आफैलाई परमेश्‍वरमा समर्पण गर्नेछ।
32हे पृथ्‍वीका राज्‍य हो, परमेश्‍वरको स्‍तुतिगान गर, परमप्रभुका प्रशंसाको स्‍तुति गाओ— सेला
33उहाँ, जो प्राचीन स्‍वर्गमा सवार हुनुहुन्‍छ, जो आफ्‍नो शक्तिशाली आवाजसित गर्जनुहुन्‍छ।
34परमेश्‍वरको सामर्थ्‍यको घोषणा गर, जसको प्रताप इस्राएलमा छाएको छ, जसको शक्ति आकाशमा छ।
35हे परमेश्‍वर, आफ्‍नो पवित्रस्‍थानमा तपाईं भययोग्‍य हुनुहुन्‍छ। इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजालाई शक्ति र बल दिनुहुन्‍छ। परमेश्‍वरको प्रशंसा होस्‌।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 68: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy