YouVersion Logo
Search Icon

भजनसंग्रह 69

69
मदतको निम्‍ति पुकारा
सङ्गीत-निर्देशकको निम्‍ति “लिली फूल” को रागअनुसार दाऊदको भजन
1हे परमेश्‍वर, मलाई बचाउनुहोस्‌, किनकि पानी मेरो गर्दनसम्‍म आइसकेको छ।
2उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्‍दैछु, गहिरो पानीमा फसेको छु, बाढ़हरू ममाथि उर्लंदैछन्‌।
3मदतको लागि कराउँदा-कराउँदा म थाकेको छु, मेरो घोक्रो सुकिसकेको छ। मेरा परमेश्‍वरको बाटो हेर्दा-हेर्दा मेरा आँखा धमिला भएका छन्‌।
4विनाकारण मलाई घृणा गर्नेहरू#भज ३५:१९; यूह १५:२५ मेरो शिरका कपालभन्‍दा धेरै छन्‌। विनाकारण मेरा शत्रु हुनेहरू धेरै छन्‌, जसले मलाई मार्न खोज्‍छन्‌।
मैले नलुटेका चीजहरू फिर्ता गर्न मलाई बाध्‍य भएको छ।
5हे परमेश्‍वर, तपाईं मेरो मूर्खता जान्‍नुहुन्‍छ,
र मेरा दोष तपाईंबाट लुकेको छैन।
6तपाईंमा आशा राख्‍नेहरू मेरो कारणले अनादरमा नपरून्‌, हे परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु। हे इस्राएलका परमेश्‍वर, तपाईंलाई खोज्‍नेहरू मेरो कारणले शर्ममा नपरून्‌।
7किनभने तपाईंकै खातिर मैले तिरस्‍कार सहेको छु,
र लाजले मेरो अनुहारलाई ढाकेको छ।
8मेरा भाइहरूका बीचमा म बिरानो भएको छु,
र मेरी आमाका छोराहरूमा म विदेशी भएको छु।
9किनकि तपाईंका भवनको जोशले मलाई जलाएको छ,#यूह २:१७; रोम १५:३ तपाईंलाई निन्‍दा गर्नेहरूको निन्‍दा ममाथि आइपरेको छ,
10म रुँदा र उपवास बस्‍दा, मैले उपहास सहनुपर्दछ,
11जब म भाङ्‌ग्राको लुगा लगाउँछु, मानिसहरू मेरो ठट्टा गर्दछन्‌।
12मूल ढोकामा बस्‍नेहरू मलाई खिज्‍याउँछन्‌,
र म त मतवालाहरूको गीत भएको छु।
13तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान्‌ प्रेममा, हे परमेश्‍वर, तपाईंको निश्‍चित उद्धारले मलाई उत्तर दिनुहोस्‌।
14दलदलमा डुब्‍नुदेखि मलाई बचाउनुहोस्‌, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट मेरो उद्धार गर्नुहोस्‌।
15पानीको बाढ़ले मलाई नछोपोस्‌, अथवा जलले मलाई ननिलोस्‌, वा चिहानले आफ्‍नो मुख ममाथि बन्‍द नगरोस्‌।
16तपाईंका प्रेमको उत्तमतामा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्‌, आफ्‍नो महान्‌ कृपामा मतर्फ फर्कनुहोस्‌।
17तपाईंको मुहार आफ्‍नो दासदेखि नफर्काउनुहोस्‌। मलाई झट्टै उत्तर दिनुहोस्‌, किनकि म दु:खमा परेको छु।
18मेरो नजिक आउनुहोस्‌ र मेरो उद्धार गरिदिनुहोस्‌, मेरा शत्रुहरूको कारण मलाई मोल तिरेर छुटाउनुहोस्‌।
19मेरो तिरस्‍कार, मेरो शर्म र मेरो बेइज्‍जत तपाईंलाई थाहा छ। मेरा सबै शत्रुहरू तपाईंकै अगि छन्‌।
20तिरस्‍कारले मेरो मन भाँचेको छ,
र म निस्‍सहाय भएको छु। मलाई टिठ्याउने कोही छन्‌ कि भनेर मैले खोजें, तर कोही थिएन, र सान्‍त्‍वना दिनेहरू पनि, तर कोही थिएन।
21तिनीहरूले मेरो खानामा पित्त हाले,#मत्ती २७:४८; मर्क १५:३६; लूक २३:२६; यूह १९:२८-२९
र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए।
22तिनीहरूका निम्‍ति राखिएको भोजन तिनीहरूका निम्‍ति पासो बनोस्‌,#रोम ११:९-१० यो नै प्रतिफल र धराप बनोस्‌।
23तिनीहरूका आँखा धमिला होऊन्‌ र देख्‍न नसक्‍ने बनून्‌,
र तिनीहरूको कमर सदा कुप्रिरहोस्‌।
24तिनीहरूमाथि तपाईंको क्रोध खन्‍याउनुहोस्‌,
र तपाईंको दन्‍किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्‌।
25तिनीहरूको छाउनी उजाड भइजाओस्‌।#प्रे १:२० तिनीहरूका पालहरूमा कोही वास नगरून्‌।
26किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, त्‍यसलाई नै तिनीहरू सताउँछन्‌,
र जसलाई तपाईंले घायल पार्नुभएको छ, त्‍यसलाई तिनीहरू अझ बढ़ी कष्‍ट दिन्‍छन्‌।
27तिनीहरूलाई अपराधमाथि अपराधको दोषारोपण गर्नुहोस्‌,
र तिनीहरू तपाईंका उद्धारको सहभागी हुन नपाऊन्‌।
28जीवनको पुस्‍तकबाट तिनीहरूका नाउँ मेटिऊन्‌,#प्रस ३२:३२; प्रका ३:५; १३:८; १७:८
र धर्मीहरूका साथमा नलेखिऊन्‌।
29म त दु:ख र पीडामा छु, हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई रक्षा गरोस्‌।
30स्‍तुति गाएर म परमेश्‍वरका नाउँको प्रशंसा गर्नेछु,
र धन्‍यवाद चढ़ाएर म उहाँको महिमा गर्नेछु।
31बलिको साँढ़ेभन्‍दा यी कुराले परमप्रभुलाई बढ़ी प्रसन्‍न पार्नेछन्‌, सीङ र खुर भएको गोरुभन्‍दा पनि बढ़ी प्रसन्‍न पार्नेछन्‌।
32यो देखेर थिचोमिचोमा परेकाहरू रमाउनेछन्‌— हे परमेश्‍वरलाई खोज्‍ने हो, तिमीहरूको हृदय जीवित होस्‌।
33परमप्रभुले दरिद्रहरूको पुकारा सुन्‍नुहुन्‍छ,
र बन्‍धनमा परेका आफ्‍ना जनलाई तुच्‍छ ठान्‍नुहुन्‍न।
34स्‍वर्ग र पृथ्‍वी र समुद्र र तिनमा चलहल गर्ने साराले उहाँको प्रशंसा गरून्‌।
35किनकि परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ,
र यहूदाका सहरहरूलाई फेरि निर्माण गर्नुहुनेछ। तब मानिसहरू त्‍यहाँ बस्‍नेछन्‌ अनि त्‍यसलाई कब्‍जा गर्नेछन्‌।
36उहाँका दासहरूका सन्‍तान त्‍यसको उत्तराधिकारी हुनेछन्‌,
र उहाँको नाउँलाई प्रेम गर्नेहरू त्‍यहाँ वास गर्नेछन्‌।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 69: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy