भजनसंग्रह 54:1-7
भजनसंग्रह 54:1-7 NNRV
हे परमेश्वर, तपाईंको नाउँले मलाई बचाउनुहोस्, र तपाईंको पराक्रमले मलाई निर्दोष साबित गरिदिनुहोस्। हे परमेश्वर, मेरो प्रार्थना सुनिदिनुहोस्, मेरो मुखका शब्दहरूमा ध्यान दिनुहोस्। विदेशीहरूले मलाई आक्रमण गर्छन्, निर्दयीहरू मलाई मार्न खोज्दछन्, त्यस्ता मानिसहरू जसले परमेश्वरको श्रद्धा गर्दैनन्। सेला निश्चय नै परमेश्वर मेरा सहायक हुनुहुन्छ, परमप्रभु, जसले मलाई थाम्नुहुन्छ। ज-जसले मेरो बदनाम गर्छन्, तिनीहरूमाथि खराबी परोस्, तपाईंको विश्वसनीयताले तिनीहरूलाई सर्वनाश गर्नुहोस्। म तपाईंलाई स्वेच्छाको बलि चढ़ाउनेछु, हे परमप्रभु, म तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनकि त्यो असल छ। किनकि उहाँले मलाई सबै कष्टहरूबाट छुटाउनुभएको छ। मैले मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेरेको छु।

