भजनसंग्रह 42:6-11

भजनसंग्रह 42:6-11 NNRV

अन्‍तस्‍करणमा मेरो मन उदास भएको छ, यसकारण म यर्दनको देशबाट र हेर्मोन र मिसारको डाँड़ाबाट तपाईंलाई सम्‍झनेछु। तपाईंका छहराको गर्जनमा सागरले सागरलाई पुकार्दछ, तपाईंका सम्‍पूर्ण छाल र तरङ्गहरूले मलाई छोपेका छन्‌। परमप्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्‍छ, र राती उहाँको भजन मसित हुन्‍छ, जो मेरो जीवनका परमेश्‍वरलाई प्रार्थना हो। मेरा परमेश्‍वर मेरो चट्टानलाई म भन्‍छु, “तपाईंले किन मलाई बिर्सनुभएको छ? शत्रुहरूको थिचोमिचोमा परेर म किन शोक गरेर हिँड़िरहनुपर्ने?” मेरा हाड़हरूमा घातक चोट पारेझैँ, मेरा शत्रुहरू मलाई गिल्‍ला गर्दै लगातार मलाई भन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?” हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।