भजनसंग्रह 18:28-50
भजनसंग्रह 18:28-50 NNRV
हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्नुहुन्छ, मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु, र मेरा परमेश्वरको सहायताले म पर्खाल नाघ्न सक्छु। परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्छ। किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र? उनै परमेश्वर, जसले मलाई शक्तिशाली तुल्याउनुहुन्छ, र मेरो मार्गलाई सिद्ध तुल्याउनुहुन्छ। उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्तै तुल्याउनुहुन्छ, र उच्च स्थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्छ। उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालीम दिनुहुन्छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्छन्। तपाईंले मलाई आफ्नो विजयको ढाल दिनुभएको छ, र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ। मलाई महान् बनाउन तपाईं स्वयम् झुक्नुहुन्छ। मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ, र मेरा गोडा चिप्लनेछैनन्। मेरा शत्रुहरूलाई खेदेर मैले तिनीहरूलाई भेट्टाएँ, तिनीहरू संहार नहोउञ्जेल म फर्किनँ। तिनीहरू उठ्न नसक्ने गरी मैले तिनीहरूलाई हिर्काएँ, तिनीहरू मेरा पाउमुनि लोटे। तपाईंले मलाई लड़ाइँको निम्ति शक्तिशाली तुल्याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो। तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न विवश पार्नुभयो, र मेरा शत्रुहरूलाई मैले संहार पारें। मदतको निम्ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन। बतासमा उड्ने धूलोजस्तो मैले तिनीहरूलाई धूलोपीठो पारें, गल्लीको हिलोझैँ मैले तिनीहरूलाई फालें। मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुटाउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता बनाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्। मेरो आदेश सुन्ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्, विदेशीहरू मेरो अगि निहुरिन्छन्। विदेशीहरू डरले शिथिल हुन्छन्, तिनीहरू आ-आफ्ना किल्लाहरूबाट डरले काम्दै निस्कन्छन्। परमप्रभु जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति-प्रशंसा होस्। मेरा उद्धारक परमेश्वर उच्च होऊन्। उहाँ परमेश्वर हुनुहुन्छ, जसले मेरो बदला लिनुहुन्छ, उहाँले नै मानिसहरूलाई मेरो वशमा पारिदिनुहुन्छ, उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो। यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्तुति गाउनेछु। उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्नो अचूक करुणा देखाउनुहुन्छ।

