भजनसंग्रह 144:1-15
भजनसंग्रह 144:1-15 NNRV
मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्छ। उहाँ मेरा करुणामय परमेश्वर र मेरो किल्ला हुनुहुन्छ, मेरो गढ़ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ। हे परमप्रभु, मानिस के हो, र तपाईंले त्यसको वास्ता गर्नुहुन्छ? मानिसको छोरा को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ? मानिस त एक मुट्ठी सासजस्तो मात्र छ, त्यसको आयु ढलिजाने छायाजस्तो मात्र छ। हे परमप्रभु, आफ्नो स्वर्गलाई खोल्नुहोस् र तल ओर्लनुहोस्, पहाड़हरूलाई छुनुहोस्, र तीबाट धूवाँ निक्लिआओस्। बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई छिन्नभिन्न पार्नुहोस्। आफ्ना बाण छोड्नुहोस् र तिनीहरूलाई लखेटिदिनुहोस्। उच्च स्थानबाट आफ्नो हात पसार्नुहोस्, र उर्लंदो बाढ़बाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्, जसका मुख झूटा कुराहरूले भरिएका छन्, र जसका दाहिने हात कपटपूर्ण छन्। हे परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु, दश-तारे सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु, तपाईं जसले राजाहरूलाई विजय प्रदान गर्नुहुन्छ, जसले आफ्नो दास दाऊदलाई घातक तरवारबाट बचाउनुहुन्छ। मलाई विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस् र छुटकारा दिनुहोस्। जसका मुख झूटा कुराहरूले भरिएका छन्, र जसका दाहिने हात कपटपूर्ण छन्। तब हाम्रा छोराहरू तिनीहरूका युवावस्थामा मौलाउँदा रूखहरूजस्तै हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्। हाम्रा धनसारहरू हरकिसिमका अन्नहरूले भरिनेछन्, हाम्रा भेड़ाहरू हजारौँ गुणा बढ्नेछन्, हाम्रा खेतमा ती लाखौँ हुनेछन्। हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्। हाम्रा पर्खालहरू फोरिनेछैनन्, न हामी बन्दीगृहमा जानुपर्नेछ, न त हाम्रा सड़कहरूमा रुवाइको आवाज उठ्नेछ। ती मानिसहरू धन्यका हुन्, जसका जीवनमा यी आशिष्हरू छन्। यस्ता मानिसहरू धन्यका हुन्, जसका परमेश्वर परमप्रभु हुनुहुन्छ।

