भजनसंग्रह 138:1-8

भजनसंग्रह 138:1-8 NNRV

हे परमप्रभु, म आफ्‍नो सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, “देवताहरू” का सामुन्‍ने म त तपाईंको प्रशंसा गर्नेछु। म तपाईंको पवित्र मन्‍दिरतिर फर्केर दण्‍डवत्‌ गर्नेछु, र तपाईंको करुणा र विश्‍वसनीयताको निम्‍ति तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनभने तपाईंले आफ्‍नो नाउँ र आफ्‍नो वचन सबै कुरामाथि उच्‍च पार्नुभएको छ। जब मैले तपाईंलाई पुकारें, तपाईंले मलाई जवाफ दिनुभयो। तपाईंले मलाई साहसी र आँटिलो पार्नुभयो। तपाईंको मुखका वचन सुन्‍दा, हे परमप्रभु, पृथ्‍वीका समस्‍त राजाहरूले तपाईंको प्रशंसा गरून्‌। तिनीहरूले परमप्रभुका मार्गहरूको जयजयकार गरून्‌, किनकि परमप्रभुको महिमा महान्‌ छ। परमप्रभु अति उच्‍चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्‍टि गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई उहाँले टाढ़ैबाट चिन्‍नुहुन्‍छ। म सङ्कटमय मार्गमा हिँड़े तापनि तपाईंले मेरो प्राणको सुरक्षा गरिदिनुहुन्‍छ। मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढ़ाउनुहुन्‍छ, आफ्‍नो दाहिने बाहुलीले मलाई बचाउनुहुन्‍छ। परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्‍ति रहिरहन्‍छ— तपाईंका हातको रचनालाई नत्‍याग्‍नुहोस्‌।