भजनसंग्रह 135:13-21

भजनसंग्रह 135:13-21 NNRV

हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदै रहिरहन्‍छ। हे परमप्रभु, तपाईंको यश पुस्‍तौँसम्‍म रहिरहन्‍छ। किनभने परमप्रभुले आफ्‍नो प्रजालाई न्‍याय दिलाउनुहुनेछ, र आफ्‍ना सेवकहरूमाथि अनुकम्‍पा राख्‍नुहुनेछ। जाति-जातिका मूर्तिहरू सुन र चाँदी हुन्‌, ती सब मानिसहरूका हातले बनिएका हुन्‍छन्‌। तिनीहरूका मुख छन्‌, तर बोल्‍न सक्‍दैनन्‌, आँखा छन्‌, तर देख्‍न सक्‍दैनन्‌। तिनीहरूका कान छन्‌, तर सुन्‍न सक्‍दैनन्‌। तिनीहरूले सास फेर्न सक्‍दैनन्‌। तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्‍तै हुनेछन्‌, अनि तिनीहरूमाथि भरोसा राख्‍नेहरू पनि सबै उस्‍तै हुनेछन्‌। हे इस्राएलको घराना, परमप्रभुको प्रशंसा गर। हे हारूनको वंश, परमप्रभुको प्रशंसा गर। हे लेवीको वंश, परमप्रभुको प्रशंसा गर। हे परमप्रभुको भय मान्‍नेहरू, परमप्रभुको प्रशंसा गर। सियोनबाट परमप्रभुको प्रशंसा होस्‌, यरूशलेममा वास गर्नुहुनेको प्रशंसा होस्‌। परमप्रभुको प्रशंसा गर।