भजनसंग्रह 119:73-104

भजनसंग्रह 119:73-104 NNRV

तपाईंका हातले मलाई बनाए, र मलाई आकार दिए। तपाईंका आज्ञाहरू बुझ्‍ने समझशक्ति मलाई दिनुहोस्‌। तपाईंको भय मान्‍नेहरू मलाई देखेर खुशी होऊन्‌, किनभने म तपाईंको वचनमा भर पर्दछु। हे परमप्रभु, तपाईंका नियमहरू धार्मिक छन्‌, अनि आफ्‍नो विश्‍वसनीयतामा तपाईंले मलाई दु:ख दिनुभएको छ भनी म जान्‍दछु। तपाईंको अचूक कृपा मेरो निम्‍ति सान्‍त्‍वना होस्‌, यो आफ्‍नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस्‌। तपाईंको करुणा ममाथि रहोस्‌, र म जीवित रहूँ, किनकि तपाईंको व्‍यवस्‍था मेरो आनन्‍द हो। अहङ्कारीहरू शर्ममा परून्‌, किनकि अकारण तिनीहरूले मलाई हानि पुर्‍याउँछन्‌। तर म तपाईंको आदेशहरूमाथि ध्‍यान गर्नेछु। तपाईंको भय मान्‍नेहरू र तपाईंका कानून बुझ्‍नेहरू मतर्फ फर्कून्‌। तपाईंका आज्ञाहरूप्रति म निष्‍खोट रहन सकूँ, र मलाई लज्‍जित हुन नपरोस्‌। मेरो प्राण तपाईंको उद्धार प्राप्‍त गर्नलाई व्‍याकुल छ, तर मैले तपाईंको वचनमाथि आशा राखेको छु। तपाईंका प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखा धमिला भइसकेका छन्‌। म भन्‍दछु, “तपाईंले मलाई कहिले सान्‍त्‍वना दिनुहुन्‍छ?” धूवाँमा राख्‍दाराख्‍दा खुम्‍चिएको दाखमद्यको मशकजस्‍तो म भइसकेको छु, तापनि तपाईंका विधिहरू मैले बिर्सेको छैनँ। तपाईंको दासले अझ कति पर्खनुपर्छ? मलाई सताउनेहरूलाई कहिले दण्‍ड दिनुहुन्‍छ? तपाईंका व्‍यवस्‍थाको विपरीत अहङ्कारीहरूले मेरो निम्‍ति खाड़ल खनेका छन्‌। तपाईंका आज्ञाहरू सबै भरपर्दा छन्‌। मेरो मदत गर्नुहोस्‌, मानिसहरूले अकारण मलाई सताउँछन्‌। तिनीहरूले मलाई धरतीबाट प्राय: नाश गरे, तर मैले तपाईंका आदेशहरू त्‍यागेको छैनँ। तपाईंको करुणाअनुसार मेरो प्राणको रक्षा गर्नुहोस्‌, र म तपाईंका मुखबाट निस्‍केका कानूनहरू पालन गर्नेछु। हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्‍त छ, आकाशमा त्‍यो स्‍थिर रहन्‍छ। तपाईंको विश्‍वसनीयता सबै पुस्‍तासम्‍म रहन्‍छ। तपाईंले पृथ्‍वी स्‍थापित गर्नुभयो, अनि त्‍यो स्‍थिर छ। तपाईंका विधानहरू आजको दिनसम्‍म स्‍थिर छन्‌, किनकि सबै थोकले तपाईंको सेवा गर्छन्‌। तपाईंको व्‍यवस्‍था मेरो निम्‍ति आनन्‍द नहुँदो हो त, म आफ्‍नो कष्‍टमा नष्‍ट भइसक्‍नेथिएँ। तपाईंका आदेशहरू म कहिल्‍यै बिर्सनेछैनँ। किनकि तपाईंले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्‍नुभएको छ। मलाई बचाउनुहोस्‌, किनकि म तपाईंकै हुँ। मैले तपाईंका आदेशहरूको खोजी गरेको छु। दुष्‍टहरू मलाई नाश गर्न ढुकिबसेका छन्‌। तर म त तपाईंका कानूनहरूमा ध्‍यान दिनेछु। सिद्ध थोकहरूको पनि सीमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू असीमित छन्‌। आहा! तपाईंको व्‍यवस्‍थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु। तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्‌, र तिनले मेरा शत्रुहरूभन्‍दा मलाई बुद्धिमान्‌ तुल्‍याउँछन्‌। मेरा सबै शिक्षकहरूभन्‍दा मेरो अन्‍तर्ज्ञान ज्‍यादा छ, किनकि म तपाईंको कानूनहरूमाथि मनन गर्दछु। धर्म-गुरुहरूको भन्‍दा मेरो समझ अझ बढ़ी छ, किनभने म तपाईंका आदेशहरू पालन गर्दछु। तपाईंको वचन पालन गरूँ भनेर, मैले आफ्‍ना गोडालाई हरेक खराब मार्गबाट अलग्‍ग राखेको छु। तपाईंका नियमहरूबाट म तर्केको छैनँ, किनकि तपाईंले नै मलाई सिकाउनुभएको छ। तपाईंका वचनहरू मेरो जिब्रोमा अति स्‍वादिष्‍ठ छन्‌, महभन्‍दा पनि मेरो मुखमा ती बढ़ी मीठा छन्‌। तपाईंको आदेशहरूद्वारा म समझशक्ति प्राप्‍त गर्छु, यसकारण हरेक झूटा मार्गलाई म घृणा गर्दछु।