भजनसंग्रह 119:41-80

भजनसंग्रह 119:41-80 NNRV

हे परमप्रभु, तपाईंको अचूक कृपा मलाई मिलोस्‌, र तपाईंले प्रतिज्ञा गर्नुभएको उद्धार मकहाँ आओस्‌। तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्‍नेछु, किनकि म तपाईंको वचनमा भरोसा राख्‍तछु। सत्‍यको वचन मेरो मुखबाट नखोसिदिनुहोस्‌, किनकि मैले तपाईंका नियमहरूमा आशा राखेको छु। म तपाईंको व्‍यवस्‍था सदासर्वदा पालन गर्नेछु। म स्‍वतन्‍त्र भएर हिँड्‌नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु। म राजाहरूका समक्ष तपाईंका कानूनहरूका विषयमा बोल्‍नेछु, अनि म लाजमा पर्नेछैनँ। म तपाईंका आज्ञाहरूमा आनन्‍दमग्‍न हुन्‍छु, किनकि म तिनलाई प्रेम गर्दछु। मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पसार्छु, र तपाईंका विधिहरूमाथि मनन गर्दछु। आफ्‍नो दासलाई दिनुभएको वचन सम्‍झना राख्‍नुहोस्‌, किनकि तपाईंले मलाई आशा प्रदान गर्नुभएको छ। मेरो सङ्कष्‍टमा मेरो सान्‍त्‍वना यसैबाट छ, तपाईंको प्रतिज्ञाले मेरो प्राणलाई सुरक्षित राख्‍तछ। अहङ्कारीहरूले मेरो विनाअवरोध ठट्टा गरेका छन्‌, तर तपाईंको व्‍यवस्‍थाबाट म हटेको छैनँ। तपाईंका पुराना नियमहरू म स्‍मरण गर्दछु, अनि हे परमप्रभु, म तिनमा सान्‍त्‍वना पाउँछु। तपाईंको व्‍यवस्‍था त्‍याग्‍ने दुष्‍टहरूले गर्दा, मलाई आक्रोशले अँठ्याएको छ। म जहाँ बसोबास गरे पनि, तपाईंका विधिहरू मेरो भजनको विषयवस्‍तु भएका छन्‌। हे परमप्रभु, म राती तपाईंका नाउँको स्‍मरण गर्दछु, अनि तपाईंको व्‍यवस्‍था म पालन गर्नेछु। यो मेरो चलन हुन गएको छ, म तपाईंका आदेशहरू पालन गर्छु। तपाईं मेरो भाग हुनुहुन्‍छ, हे परमप्रभु, तपाईंका वचनहरू पालन गर्ने, मैले प्रतिज्ञा गरेको छु। मैले सम्‍पूर्ण हृदयले तपाईंका मुहारको खोजी गरेको छु, तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रह गर्नुहोस्‌। मैले आफ्‍नो आचरणको विषयमा विचार गरेको छु, र तपाईंका कानूनतर्फ आफ्‍ना कदम चालेको छु। म ढिलो गर्दिनँ, बरु तपाईंका आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु। दुष्‍टहरूले मलाई डोरीले बाँधे पनि म तपाईंको व्‍यवस्‍थालाई बिर्सनेछैनँ। तपाईंका धार्मिक नियमहरूका खातिर मध्‍यरातमा तपाईंमा धन्‍यवाद चढ़ाउन उठ्छु। तपाईंको भय मान्‍नेहरू र तपाईंका आदेश पालन गर्नेहरू सबैका म एक साथी हुँ। हे परमप्रभु, तपाईंको प्रेमले पृथ्‍वी परिपूर्ण छ, मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌। हे परमप्रभु, तपाईंले आफ्‍नो वचनअनुसार आफ्‍नो दासको उपकार गर्नुहोस्‌। मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्‌, किनकि म तपाईंका आज्ञामाथि विश्‍वास राख्‍तछु। म कष्‍टित हुनुभन्‍दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईंको वचन पालन गर्दछु। तपाईं भलो हुनुहुन्‍छ अनि भलाइ गर्नुहुन्‍छ। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌। अहङ्कारीहरूले मेरो विरुद्धमा झूटा कुरा रचेका भए तापनि म सम्‍पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्‌, तर म तपाईंको व्‍यवस्‍थामा हर्षित हुन्‍छु। ममाथि क्‍लेशहरू आइपरेका असलै भयो, ताकि म तपाईंका विधिहरू सिक्‍न सकूँ। तपाईंको मुखबाट निस्‍केको व्‍यवस्‍था मेरो निम्‍ति सुन र चाँदीका हजारौँ टुक्राभन्‍दा मूल्‍यवान्‌ छ। तपाईंका हातले मलाई बनाए, र मलाई आकार दिए। तपाईंका आज्ञाहरू बुझ्‍ने समझशक्ति मलाई दिनुहोस्‌। तपाईंको भय मान्‍नेहरू मलाई देखेर खुशी होऊन्‌, किनभने म तपाईंको वचनमा भर पर्दछु। हे परमप्रभु, तपाईंका नियमहरू धार्मिक छन्‌, अनि आफ्‍नो विश्‍वसनीयतामा तपाईंले मलाई दु:ख दिनुभएको छ भनी म जान्‍दछु। तपाईंको अचूक कृपा मेरो निम्‍ति सान्‍त्‍वना होस्‌, यो आफ्‍नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस्‌। तपाईंको करुणा ममाथि रहोस्‌, र म जीवित रहूँ, किनकि तपाईंको व्‍यवस्‍था मेरो आनन्‍द हो। अहङ्कारीहरू शर्ममा परून्‌, किनकि अकारण तिनीहरूले मलाई हानि पुर्‍याउँछन्‌। तर म तपाईंको आदेशहरूमाथि ध्‍यान गर्नेछु। तपाईंको भय मान्‍नेहरू र तपाईंका कानून बुझ्‍नेहरू मतर्फ फर्कून्‌। तपाईंका आज्ञाहरूप्रति म निष्‍खोट रहन सकूँ, र मलाई लज्‍जित हुन नपरोस्‌।