भजनसंग्रह 119:145-160

भजनसंग्रह 119:145-160 NNRV

आफ्‍नो पूरा हृदयले म तपाईंलाई पुकार्दछु, हे परमप्रभु, मलाई जवाफ दिनुहोस्‌, र तपाईंका विधिहरू म पालन गर्नेछु। म तपाईंलाई पुकार्दछु, मलाई बचाउनुहोस्‌, अनि तपाईंका कानूनहरू म पालन गर्नेछु। म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु। तपाईंका प्रतिज्ञाहरूमाथि मनन गरूँ भनेर, मेरा आँखा रातका पहरहरूमा खुला रहन्‍छन्‌। तपाईंको करुणाअनुसार मेरो सोर सुनिदिनुहोस्‌, हे परमप्रभु, तपाईंका नियमअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। कुचेष्‍टा रच्‍ने दुष्‍टहरू नजिक आइसकेका छन्‌, तर तिनीहरू तपाईंको व्‍यवस्‍थाबाट टाढ़ा छन्‌। तर हे परमप्रभु, तपाईं नजिकै हुनुहुन्‍छ, र तपाईंका सबै आज्ञाहरू सत्‍य छन्‌। अतीतदेखि नै तपाईंका कानूनहरूबाट मैले सिकें, कि तपाईंले तिनीहरूलाई सदासर्वदा रहून्‌ भनी स्‍थापना गर्नुभयो। मेरो दु:खलाई विचार गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, किनकि तपाईंको व्‍यवस्‍था मैले बिर्सेको छैनँ। मेरो पक्षमा निर्णय दिनुहोस्‌, र मलाई छुटाउनुहोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मेरो प्राणलाई सुरक्षा गर्नुहोस्‌। दुष्‍टहरूबाट उद्धार टाढ़ा छ, किनकि तिनीहरूले तपाईंका विधिहरूको खोजी गर्दैनन्‌। हे परमप्रभु, तपाईंको दया-दृष्‍टि अति महान्‌ छ, तपाईंका नियमहरूअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। मलाई सताउने शत्रुहरू अनेक छन्‌, तापनि तपाईंका कानूनहरूबाट म तर्केको छैनँ। विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु, किनभने तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्‌। हेर्नुहोस्‌, म कसरी तपाईंका आदेशहरूलाई प्रेम गर्दछु, हे परमप्रभु, तपाईंको करुणाअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। तपाईंका सम्‍पूर्ण वचनहरू सत्‍य छन्‌, र तपाईंका सबै धार्मिक नियमहरू अनन्‍तका छन्‌।