भजनसंग्रह 119:105-128

भजनसंग्रह 119:105-128 NNRV

तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो। मैले यो शपथ खाएर दृढ़ सङ्कल्‍प गरेको छु, कि तपाईंका धार्मिक नियमहरू म पालन गर्नेछु। म ज्‍यादै पीडित भएको छु, हे परमप्रभु, आफ्‍नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्‌। हे परमप्रभु, मेरो मुखबाट स्‍वेच्‍छाले निस्‍केको स्‍तुति-प्रशंसा ग्रहण गर्नुहोस्‌, र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्‌। मेरो प्राण निरन्‍तर जोखिममा रहन्‍छ, तापनि म तपाईंको व्‍यवस्‍था बिर्सन्‍नँ। दुष्‍टहरूले मेरो निम्‍ति पासो थापेका छन्‌, तर तपाईंका आदेशहरूबाट म बरालिएको छैनँ। तपाईंका कानूनहरू सदाकालको निम्‍ति मेरा मूल्‍यवान्‌ सम्‍पत्ति भएका छन्‌। तिनले मेरो हृदयलाई हर्षित तुल्‍याउँछन्‌। तपाईंका विधिहरू एकदमै अन्‍त्‍यसम्‍म पालन गर्न मैले अठोट गरेको छु। दोहोरो मन भएका मानिसलाई म घृणा गर्दछु, तर तपाईंको व्‍यवस्‍थासँग म प्रेम राख्‍तछु। तपाईं मेरो शरणस्‍थान र ढाल हुनुहुन्‍छ, मैले तपाईंको वचनमा भरोसा राखेको छु। हे कुकर्मी हो, मबाट दूर होओ, र मेरा परमेश्‍वरका आज्ञाहरू म पालन गर्न सकूँ। तपाईंको प्रतिज्ञाअनुसार मलाई थामिराख्‍नुहोस्‌, र म जीवित रहूँ, र मेरा आशाहरू चकनाचूर हुन नदिनुहोस्‌। मलाई थाम्‍नुहोस्‌ र म बाँच्‍नेछु। तपाईंका विधिहरूलाई म निरन्‍तर आदर गर्नेछु। तपाईंका विधिहरूबाट बरालिनेहरूलाई तपाईंले इन्‍कार गर्नुहुन्‍छ, किनकि तिनीहरूको छल व्‍यर्थको ठहर्छ। पृथ्‍वीका सबै दुष्‍टहरूलाई तपाईंले फोहोरझैँ फालिदिनुहुन्‍छ। यसकारण तपाईंका कानूनहरूलाई म प्रेम गर्दछु। तपाईंको भयमा मेरो शरीर काम्‍दछ, तपाईंका नियमहरूले म भयभीत हुन्‍छु। मैले धार्मिक र न्‍यायपूर्ण आचरण पालन गरेको छु, मेरा अत्‍याचारीहरूका हातमा मलाई नछोड्‌नुहोस्‌। आफ्‍नो दासका भलाइको जिम्‍मा तपाईंले लिनुहोस्‌, अहङ्कारीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्‌। तपाईंको उद्धार र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दा, मेरा आँखा धमिला भइसकेका छन्‌। तपाईंको कृपाअनुसार आफ्‍नो दाससँग व्‍यवहार गर्नुहोस्‌, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌। म तपाईंको दास हुँ, मलाई विवेक दिनुहोस्‌, र तपाईंका कानूनहरू म बुझ्‍न सकूँ। हे परमप्रभु, तपाईंले अब कार्य गर्ने बेला भएको छ, तपाईंको व्‍यवस्‍था भङ्ग हुँदैछ। मैले तपाईंका आज्ञाहरूलाई सुन र निखुर सुनभन्‍दा पनि बढ़ी प्रेम गरेको, अनि तपाईंका सबै आदेशहरूलाई सत्‍य ठानेको कारणले, हरेक झूटो शिक्षालाई म घृणा गर्दछु।