तब तिनीहरूले सुन्दर देशलाई तुच्छ ठाने, तिनीहरूले उहाँको प्रतिज्ञामा विश्वास गरेनन्। तिनीहरू आफ्ना पालहरूमा गनगनाए, र परमप्रभुको आज्ञापालन गरेनन्, यसकारण तिनीहरूलाई उजाड-स्थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो, अनि तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपष्ट पार्छु, र तिनीहरूलाई देश-विदेशमा तितरबितर पार्छु भन्नुभयो। तिनीहरूले पोरको बाल देवताको पूजा गरे, र निर्जीव देवताहरूलाई चढ़ाएका बलिका थोकहरू खाए। तिनीहरूले आफ्ना दुष्ट कामले परमप्रभुलाई क्रोधित पारे, र तिनीहरूमा रूढ़ी फैलियो। तर पीनहास उठेर मध्यस्थता गरे, र यसैले रूढ़ी थामियो। अनि यो तिनको निम्ति पुस्तौँसम्म सदाको लागि धार्मिकता गनियो। तिनीहरूले मेरीबाका पानीको नजिक पनि परमप्रभुलाई क्रोधित तुल्याए, र तिनीहरूले गर्दा मोशाको खराबी हुन गयो। किनभने तिनीहरू परमेश्वरका आत्माको विरुद्धमा बागी भएका थिए, र मोशाको मुखबाट अनर्थ कुरा निस्के। परमप्रभुको आज्ञाअनुसार तिनीहरूले अन्यजातिहरूलाई नाश गरेनन्। तर तिनीहरू जाति-जातिहरूसँग मिसिए, र तिनीहरूका रीतिहरू अपनाए। तिनीहरूले उनीहरूका मूर्तिहरू पुजे, र ती तिनीहरूका निम्ति पासो बने। तिनीहरूले आफ्ना छोराछोरीहरूलाई भूतात्माहरूलाई बलि चढ़ाए। तिनीहरूले निर्दोषको रगत, अर्थात् आफ्नै छोराछोरीहरूको रगत बगाए, जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढ़ाए। र तिनीहरूको रगतले धरती अपवित्र भयो। यसरी तिनीहरू आफ्नै कामले अशुद्ध भए, र आफ्ना कामले गर्दा तिनीहरू व्यभिचारी बने। त्यसकारण आफ्नो प्रजामाथि परमप्रभुको क्रोध दन्क्यो, र उहाँले आफ्नो उत्तराधिकारका मानिसहरूलाई घृणा गर्नुभयो। अनि उहाँले तिनीहरूलाई अन्यजातिहरूका हातमा दिनुभयो, र तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे। तिनीहरूका शत्रुहरूले पनि तिनीहरूलाई अत्याचार गरे, र तिनीहरूलाई आफ्नो शक्तिको वशमा पारे। धेरै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो, तर तिनीहरू आफ्नै विद्रोहपूर्ण युक्तिमा चल्दैगए, र तिनीहरू आफ्नै अधर्मले पतन हुँदैगए। तर उहाँले तिनीहरूको दुहाई सुनेर तिनीहरूको सङ्कष्टमा नजर फिराउनुभयो। तिनीहरूका खातिर आफ्नो करार उहाँले स्मरण गर्नुभयो, र आफ्नो प्रशस्त करुणाअनुसार दयालु हुनुभयो। तिनीहरूलाई कैद गर्नेहरू सबैका नजरमा तिनीहरूलाई दयाको पात्र बनाउनुभयो। हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस्। तपाईंको पवित्र नाउँमा धन्यवाद चढ़ाऊन्, र तपाईंको प्रशंसामा गौरव गरून् भनेर, हामीहरूलाई जातिहरूका बीचबाट एकत्र गर्नुहोस्। परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा अनादिदेखि अनन्तसम्मै भइरहोस्। र सबै मानिसहरूले भनून्, “आमेन।” परमप्रभुको प्रशंसा गर।
भजनसंग्रह 106 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 106
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 106:24-48
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू