भजनसंग्रह 106:13-23

भजनसंग्रह 106:13-23 NNRV

तर तिनीहरूले चाँड़ै उहाँका कार्यहरू बिर्सिहाले, र उहाँका सल्‍लाहको प्रतीक्षा तिनीहरूले गरेनन्‌। उजाड-स्‍थानमा तिनीहरूले आफूलाई आफ्‍नो तृष्‍णाको वशमा सुम्‍पिए, र तिनीहरूले मरुभूमिमा परमेश्‍वरको परीक्षा गरे। यसर्थ तिनीहरूले मागेका कुरा उहाँले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा शिथिलताको रोग पठाइदिनुभयो। छाउनीमा तिनीहरू मोशासित र परमप्रभुमा अर्पण गरिएका हारूनसँग डाहा गरे। धर्ती फाटेर दातानलाई निल्‍यो, र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्‍किउठ्यो, आगोको ज्‍वालाले दुष्‍टहरूलाई भस्‍म पार्‍यो। होरेबमा तिनीहरूले बाछा बनाए, र धातुको मूर्तिपूजा गरे। यसरी तिनीहरूले आफ्‍नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे। तिनीहरूले आफ्‍ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले मिश्रदेशमा महान्‌ कार्यहरू गर्नुभएको थियो, जसले हामको देशमा आश्‍चर्यकर्महरू, र लाल समुद्रको किनारमा भयङ्कर काम गर्नुभएको थियो। यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोशा उहाँको सामुन्‍ने खड़ा भए।