भजनसंग्रह 106:13-23
भजनसंग्रह 106:13-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनीहरूले चाँड़ै उहाँका कार्यहरू बिर्सिहाले, र उहाँका सल्लाहको प्रतीक्षा तिनीहरूले गरेनन्। उजाड-स्थानमा तिनीहरूले आफूलाई आफ्नो तृष्णाको वशमा सुम्पिए, र तिनीहरूले मरुभूमिमा परमेश्वरको परीक्षा गरे। यसर्थ तिनीहरूले मागेका कुरा उहाँले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा शिथिलताको रोग पठाइदिनुभयो। छाउनीमा तिनीहरू मोशासित र परमप्रभुमा अर्पण गरिएका हारूनसँग डाहा गरे। धर्ती फाटेर दातानलाई निल्यो, र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्किउठ्यो, आगोको ज्वालाले दुष्टहरूलाई भस्म पार्यो। होरेबमा तिनीहरूले बाछा बनाए, र धातुको मूर्तिपूजा गरे। यसरी तिनीहरूले आफ्नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे। तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्वरलाई बिर्से, जसले मिश्रदेशमा महान् कार्यहरू गर्नुभएको थियो, जसले हामको देशमा आश्चर्यकर्महरू, र लाल समुद्रको किनारमा भयङ्कर काम गर्नुभएको थियो। यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोशा उहाँको सामुन्ने खड़ा भए।
भजनसंग्रह 106:13-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिनीहरूले तुरुन्तै उहाँका कामहरू बिर्सिहाले; र तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्। मरुभूमिमा तिनीहरू धेरै नै खाने लालसामा परे; तिनीहरूले उजाडस्थानमा परमेश्वरको जाँच गरे। त्यसैले उहाँले तिनीहरूलाई मागेअनुसार दिनुभयो, तर तिनीहरूका बीचमा महामारी पठाउनुभयो। तिनीहरूले छाउनीमा मोशासित र याहवेहमा अर्पण गरिएका हारूनसँग डाह गरे। तब धर्ती फाटेर दातानलाई निल्यो; र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्क्यो; ज्वालाले दुष्टहरूलाई भस्म पार्यो। होरेबमा तिनीहरूले एउटा बाछा बनाए; र धातुको त्यस मूर्तिलाई आराधना गरे। यसरी तिनीहरूले परमेश्वरलाई दिने आफ्ना महिमा घाँस खाने साँढेको मूर्तिसँग साटे। तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्वरलाई बिर्से, जसले इजिप्टमा महान् कामहरू गर्नुभएको थियो; जसले हामको देशमा अचम्मका कामहरू, र लाल समुद्रको किनारमा अद्भुत कार्यहरू गर्नुभएको थियो। यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुभयो। तर उहाँका चुनिएका जन मोशा तिनीहरूलाई नाश पार्ने उहाँको क्रोध हटाउनलाई उहाँको सामु खडा भए।
भजनसंग्रह 106:13-23 पवित्र बाइबल (NERV)
तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से। तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्। हाम्रा पिता-पुर्खाहरू मरुभूमिमा भोकाए अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे। तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो। तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो। मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो। यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो। त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो। तब त्यस भीडको माझमा आगो लाग्यो, र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो। ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे! तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित घाँस खाने बाछोको मूर्ति साटे। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो, तिनीहरूले उहाँको बारेमा भुलिदिए। परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो। परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो! परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्न मोशाले उहासँग बिन्ति गरे। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।
भजनसंग्रह 106:13-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर उहाँले गर्नुभएको काम छिट्टै तिनीहरूले भुले र उहाँको सल्लाह नपर्खी आफ्ना काम गरे। मरुभूमिमा तिनीहरूले अनेक प्रकारका लालसा गरे र परमेश्वरको जाँच गरे। यसैले तिनीहरूले मागेका सबै कुराहरू उहाँले तिनीहरूलाई दिनुभयो, तर एउटा डरलाग्दो रोग पनि तिनीहरूका बीचमा पठाउनुभयो। परमप्रभुका पवित्र सेवकहरू; मोशा र हारूनलाई, तिनीहरूले मरुभूमिमा ईर्ष्या गरे। तब पृथ्वी फाट्यो र दातानलाई निल्यो र अबीराम र त्यसका परिवार त्यहाँ गाडिए। तिनीहरूका पछि लाग्नेहरूमाथि आगोको वर्षा भयो र ती दुष्ट मानिसहरू भस्म भए। तिनीहरूले होरेबमा सुनको बाछो बनाए र त्यस मूर्तिको पूजा गरे। तिनीहरूले परमेश्वरलाई दिने महिमालाई एउटा घाँस खाने पशुको मूर्तिसँग साटे। मिश्रमा आफ्ना सामर्थी कामहरूद्वारा तिनीहरूलाई बचाउनुहुने परमेश्वरलाई तिनीहरूले बिर्से। त्यहाँ कस्ता उदेकका कामहरू उहाँले गर्नुभयो! लाल समुद्रमा कस्ता आश्चर्यका काम गर्नुभयो! जब परमेश्वरले ती आफ्ना प्रजालाई नाश गर्ने काम गर्नुभयो, तब उहाँको चुनिएका सेवक मोशा खडा भएर तिनीहरूलाई परमेश्वरको क्रोधबाट नष्ट हुनदेखि बचाए।