भजनसंग्रह 106:1-23

भजनसंग्रह 106:1-23 NNRV

परमप्रभुको प्रशंसा गर। परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनकि उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सधैँभरि रहन्‍छ। परमप्रभुको पराक्रमी कामहरूको बयान कसले गर्न सक्‍छ? उहाँको प्रशंसा सम्‍पूर्ण रूपले कसले घोषणा गर्न सक्‍छ? तिनीहरू धन्‍यका हुन्‌, जो न्‍यायमा चल्‍दछन्‌, जो सधैँ सदाचरण गर्दछन्‌। हे परमप्रभु, आफ्‍नो प्रजामाथि निगाह गर्नुहुँदा मलाई सम्‍झनुहोस्‌, तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्‌, र तपाईंका चुनिएकाहरूको सुख-शान्‍ति देख्‍न पाऊँ, र तपाईंका जातिको हर्षमा सहभागी हुन सकूँ, अनि तपाईंको उत्तराधिकारका मानिसहरूसँग मिली तपाईंको प्रशंसा गर्न सकूँ। हाम्रा पुर्खाहरूले जस्‍तै हामीले पनि पाप गरेका छौं। हामीले अपराध गरेका छौं, हामीले दुष्‍ट्याइँ गरेका छौं। हाम्रा पुर्खाहरूले मिश्रदेशमा छँदा तपाईंका आश्‍चर्यकर्महरूको ख्‍यालै गरेनन्‌, तपाईंको प्रशस्‍त करुणा तिनीहरूले सम्‍झेनन्‌, र लाल समुद्रको किनारमा तिनीहरूले सर्वोच्‍च परमेश्‍वरको विद्रोह गरे। तापनि आफ्‍नो महापराक्रम प्रकट होस्‌ भनेर, उहाँले आफ्‍नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो। उहाँले लाल समुद्रलाई हप्‍काउनुभयो, र त्‍यो सुकिहाल्‍यो। यसरी उहाँले तिनीहरूलाई मरुभूमिको बाटोजस्‍तै गरी गहिरो ठाउँबाट डोर्‍याएर लैजानुभयो। उहाँले तिनीहरूलाई शत्रुको हातबाट बचाउनुभयो, शत्रुको हातबाट तिनीहरूलाई छुटाउनुभयो। तिनीहरूका विरोधीहरूलाई पानीले छोप्‍यो, उनीहरूमध्‍ये एक जना पनि बाँचेन। तब तिनीहरूले उहाँका वचनमाथि विश्‍वास गरे, र उहाँको प्रशंसा गरे। तर तिनीहरूले चाँड़ै उहाँका कार्यहरू बिर्सिहाले, र उहाँका सल्‍लाहको प्रतीक्षा तिनीहरूले गरेनन्‌। उजाड-स्‍थानमा तिनीहरूले आफूलाई आफ्‍नो तृष्‍णाको वशमा सुम्‍पिए, र तिनीहरूले मरुभूमिमा परमेश्‍वरको परीक्षा गरे। यसर्थ तिनीहरूले मागेका कुरा उहाँले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा शिथिलताको रोग पठाइदिनुभयो। छाउनीमा तिनीहरू मोशासित र परमप्रभुमा अर्पण गरिएका हारूनसँग डाहा गरे। धर्ती फाटेर दातानलाई निल्‍यो, र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्‍किउठ्यो, आगोको ज्‍वालाले दुष्‍टहरूलाई भस्‍म पार्‍यो। होरेबमा तिनीहरूले बाछा बनाए, र धातुको मूर्तिपूजा गरे। यसरी तिनीहरूले आफ्‍नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे। तिनीहरूले आफ्‍ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले मिश्रदेशमा महान्‌ कार्यहरू गर्नुभएको थियो, जसले हामको देशमा आश्‍चर्यकर्महरू, र लाल समुद्रको किनारमा भयङ्कर काम गर्नुभएको थियो। यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोशा उहाँको सामुन्‍ने खड़ा भए।