हितोपदेश 6:1-11

हितोपदेश 6:1-11 NNRV

हे मेरो छोरा, यदि तँ आफ्‍नो छिमेकीको जमानी बसेको छस्‌ वा कसैसँग करार बाँधेको छस्‌ भने, यदि आफ्‍नो प्रतिज्ञाको वचनले तँ फसिस्, र आफ्‍नै मुखको वचनले पासोमा परिस्‌ भने, तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्‍तो गर्, किनकि तँ आफ्‍नो छिमेकीको पन्‍जामा परेको छस्‌: आफूलाई नम्र तुल्‍याएर झट्टै जा, र छिमेकीसँग खुरन्‍धार बिन्‍ती गर्‌! आँखामा निद्रा पर्न नदे, र पटल बन्‍द हुन नदे। शिकारीको हातबाट हरिण उम्‍केझैँ, व्‍याधाको पासोबाट चरा फुत्‍केझैँ तैंले आफूलाई मुक्त गर्‌। ए अल्‍छे, कमिलाकहाँ गएर त्‍यसको चाल-ढङ्ग हेर्‌ र बुद्धिमानी बन्‌! त्‍यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ। ए अल्‍छे, तँ कहिलेसम्‍म सुतिरहन्‍छस्‌? तँ कहिले आफ्‍नो निद्राबाट जाग्‍छस्‌? क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्‍नेछ।