हितोपदेश 30:1-16

हितोपदेश 30:1-16 NNRV

याकेका छोरा आगूरका नीतिवचन— एक ईश्‍वरवाणी: यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्‌: मानिसहरूमध्‍ये म सबभन्‍दा अबूझ हुँ, मानिसमा हुनुपर्ने समझशक्ति मसँग छैन। मैले बुद्धि प्राप्‍त गरेको छैनँ, न त मलाई परमपवित्रको ज्ञान नै छ। स्‍वर्गसम्‍म को उक्‍लेको छ र तल ओर्लेर आएको छ? कसले बतासलाई आफ्‍नो हातको मुट्ठीमा बटुलेको छ? कसले पानीलाई आफ्‍नो खास्‍टोमा लपेटेको छ? पृथ्‍वीका चारैतिरको अन्‍तसम्‍म कसले स्‍थापित गरेको छ? उहाँको नाउँ के हो, र उहाँका पुत्रको नाउँ के हो? यदि तँलाई थाहा छ भने मलाई भन्‌! “परमेश्‍वरको हरेक वचन दोष रहित छ। उहाँमा शरण लिनेहरूका निम्‍ति उहाँ ढाल हुनुहुन्‍छ। उहाँका वचनहरूमा नथप्‌, नत्रता उहाँले तँलाई हप्‍काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ। “म तपाईंसँग दुई वटा कुरा माग्‍दछु, हे परमप्रभु। म मर्न अघि ती मबाट इन्‍कार नगर्नुहोस्‌। असत्‍यता र झूटा कुरा मबाट टाढ़ै राख्‍नुहोस्, न त मलाई दरिद्रता न धन-सम्‍पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्‌। अन्‍यथा मसँग धेरै भएकोले म तपाईंलाई इन्‍कार गरुँला, र ‘परमप्रभु को हो र?’ भनुँला, अथवा म गरीब भएकोले चोरी गरुँला, र परमप्रभु मेरा परमेश्‍वरको नाउँ अपमानित पारुँला। “मालिकको सामु त्‍यसका नोकरको निन्‍दा नगर्, नत्रता त्‍यसले तँलाई सराप्‍नेछ, र तैंले यसको मूल्‍य चुकाउनुपर्नेछ। “यस्‍ताहरू पनि हुन्‍छन्‌ जुनहरू आफ्‍ना बुबालाई सराप्‍छन्, र आफ्‍ना आमाहरूलाई धन्‍यका ठान्‍दैनन्, तिनीहरू जो आफ्‍नै दृष्‍टिमा शुद्ध हुन्‍छन्‌ तर आफ्‍नै फोहोरबाट तिनीहरू सफा भएका हुँदैनन्, तिनीहरू जसका आँखाहरू अति घमण्‍डी हुन्‍छन्, जसको हेराइ अति घृणायुक्त हुन्‍छ, तिनीहरू जसका दाँत तरवारहरू हुन्‌ र जसका बङ्गारा छुरा समान हुन्‍छन्‌। “जूकाका दुई छोरीहरू छन्‌। ‘देऊ! देऊ!’ भन्‍दै तिनीहरू चिच्‍च्‍याउँछन्‌। “तीन कुरा छन्‌ जो कहिल्‍यै सन्‍तुष्‍ट हुँदैनन्, चार वटा जसले ‘पुग्‍यो’ कहिल्‍यै भन्‍दैनन्‌: चिहान र बाँझी गर्भ, र जमिन, जो पानीले कहिल्‍यै अघाउँदैन, र आगो, जसले ‘पुग्‍यो’ कहिल्‍यै भन्‍दैन।